नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल: लालिगुराँस नपाको विजयी सुरुवात 

ओखलढुङ्गान्युज, पुष २० । अन्तर प्रदेश स्थानीय तह मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगितामा तेह्रथुमको लालिगुराँस नगरपालिकाले विजयी सुरुवात गरेको छ । आज शुक्रबार सम्पन्न खेलमा भोजपुरको टेम्केमैयुङ गाउँपालिकालाई पराजित गर्दै आफ्नो विजयी यात्रा सुरुवात गरेको हो ।

पहिलो रोजाइमा परेका गोलकिपर विना १० खेलाडीमा सिमित रहेको टेम्केमैयुङ गाउँपालिकालाई लालिगुराँस नगरपालिकाले ४-२ गोलले पराजित गरेको हो । खेलको सुरुवाती ११ औं मिनेटमा नै टेम्केमैयुङका गोलकिपर जेशिज शेर्पा रेड कार्ड पाउदै बाहिरिएका थिए । गोलकिपर शेर्पा बाहिरीए पछि टेम्केमैयुङ १० खेलाडीमा सीमित रहन पुगेको थियो ।

१० खेलाडीमा सिमित टेम्के मैयुङले जर्सी नं. ५ का खेलाडी अविशेक राईको गोलमा अग्रता लियो । तर पहिलो हापको थपिएको समयको दुई मिनेटमा लालिगुराँसका जर्सी नं. ७ का महादेब तामाङ र जर्सी नं. ११ का सन्जिब लिम्बूले १/१ गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए । 

दोश्रो हाफमा टेम्के मैयुङका लागि जर्सी नं. ९ का युवराज थापाले गोल गर्दै २-२ को बराबरी गरे । तर त्यसको केहि समयमा नै लालिगुराँसका जर्सी नं. ५ का खेलाडी गणेश लिम्बू र जर्सी नं. ११ का सन्जिव लिम्बूले थप गोल गर्दै ४-२ को जित निकाले । योसँगै लालिगुराँस नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ भने टेम्के मैयुङ खेलबाट बाहिरीएको छ ।

शनिवार ओखलढुङ्गाको आयोजक मानेभञ्ज्याङ गाउँपालिका र खोटाङको हलेशी तुवाचुङ नगरपालिका बिच पहिलो क्वाटरफाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ । आज शुक्रबार हुने भनिएको पहिलो खेलमा धरान उपमहानगरपालिकाको टिम उपस्थित नभएपछि वाकओभरका आधारमा माङ्सेबुङ गाउँपालिका क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

२३ गते देखी सञ्चालन गर्ने तयारी भइरहेको क्वाटरफाइनलका खेलहरु अब २१ गते देखि नै सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल २७ गते हुने टाइसेट सार्वजनिक गरिएको भएपनि १/२ दिन अगाडी नै फाइनल खेल हुने सम्भावना रहेको मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । 

आजको प्रतियोगितामा दुई गोल गर्ने लालिगुराँस नगरपालिकाका सञ्जीव लिम्बू प्रतियोगिताका म्यान अफ दी म्याच घोषित भए । म्यान अफ दी म्याच घोषित भएका लिम्बूले नगद रु ५ हजार प्राप्त गरे । उनलाई गाउँ पालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताका बिजेताले नगद रु ५ लाख सहित २.५ तोला सुन र २ सय तोला चाँदीको शिल्ड प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले नगद रु ३ लाख तथा सेमिफाइनलिष्ट दुई टीमले क्रमशः नगद रु १-१ लाख प्राप्त गर्नेछ ।