नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल: लिखु र मोलुङको विजयी सुरुवात 

ओखलढुङ्गान्युज, पुष १९ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा १७ गतेबाट सुरु भएको अन्तर प्रदेश स्थानीय तह मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगितामा ओखलढुङ्गाको लिखु र मोलुङ गाउँपालिकाले विजयी यात्रा सुरूवात गरेको छ । आज विहिवार भएको पहिलो खेलमा ओखलढुङ्गाको लिखु गाउँपालिकाले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकालाई ५-१ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

विहिवार भएको पहिलो खेलमा लिखु गाउँपालिकाका जर्सी नं. ८ का खेलाडी आकाश पौडेलको ह्याट्रिकमा नेचासल्यान गाउँपालिकालाई लिखुले ५-१ गोलले पराजित गरेको हो । लिखु गाउँपालिकाका लागि जर्सी नं. ७ का करुण मगर र जर्सी नं. १४ का सुरज विष्टले १-१ गोल गरे । 

खेलको अन्तिम समय तिर नेचासल्यानका खेलाडीले पाएको पेनाल्टीको अबसरलाई सदुपयोग गर्दै लिखुको विरुद्ध सान्त्वना एक गोल फर्काए । प्रतियोगितामा ३ गोल गर्ने लिखुका आकाश पौडेल म्यान अफ दी म्याच घोषित हुदै नगद रु ५ हजार प्राप्त गरे ।

त्यस्तै आजै भएको दोश्रो खेलमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकालाई ३-० गोलले पराजित गर्दै ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले विजयी यात्रा सुरुवात गरेको छ । मोलुङका लागि खेलको दोश्रो हाफमा जर्सी नं.१० का खेलाडी रविन मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि मोलुङले पाएको फ्रिकिकको अबसरलाई सदुपयोग गर्दै जर्सी नं. ४ का खेलाडी मिलन परियारले थप २ गोल गर्दै मोलुङलाई ३-० ले विजयी गराए ।

खेलमा थुलुङ दुधकोशीले पाएको फ्रिकिक र अरु‌ सुन्दर अबसरलाई गोलमा परिणत गर्न नसक्दा पराजितसँगै खेलबाट बाहिरिएको छ । खेलमा २ गोल गर्ने मोलुङका मिलन परियार प्रतियोगिताका म्यान अफ दी म्याच घोषित भए । म्यान अफ दी म्याच घोषित भएका परियारले नगद रु ५ हजार प्राप्त गरे ।

प्रतियोगिताका बिजेताले नगद रु ५ लाख सहित २.५ तोला सुन र २ सय तोला चाँदीको शिल्ड प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले नगद रु ३ लाख तथा सेमिफाइनलिष्ट दुई टीमले क्रमशः नगद रु १-१ लाख प्राप्त गर्नेछ । प्रतियोगिता पुष २७ सम्म सन्चालन हुनेछ । प्रतियोगिता मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ३ उँबुको खेलमैदानमा सन्चालन भैरहेको छ ।