नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल: सिनपा र हलेसी तुवाचुङको विजयी सुरुवात 

ओखलढुङ्गान्युज, पुष १८ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा हिजोबाट सुरु भएको अन्तर प्रदेश स्थानीय तह मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगितामा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले विजयी यात्रा सुरूवात गरेको छ । आज भएको पहिलो खेलमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले उदयपुरको कटारी नगरपालिकालाई पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

बुधबार सम्पन्न भएको पहिलो खेलमा सिद्धिचरण नगरपालिकाले कटारीलाई १-० गोलले पराजित गरेको हो । गेमको पहिलो हाफमा दुवै टिमको तर्फबाट गोेल गर्ने राम्रो असरहरुलाई सदुपयोग गर्न नसक्दा ०-० को बराबरीमा टुङ्गिएको थियो । 

तर दोस्रो हाफको ४३ औं मिनेटमा सिद्धिचरण नगरपालिकाका लागि जर्सी नं. ७ का खेलाडी सन्जय गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए । अन्ततः गुरुङले सिद्धिचरण नगरपालिकाका लागि गरेको उक्त गोल नै निर्णायक गोल बन्न पुग्यो र सिद्धिचरण नगरपालिका विजयी बन्यो । पहिलो खेलमा सिद्धिचरण नगरपालिकाका लागि गोल गर्ने गुरुङ म्यान अफ दी म्याच घोषित भए । म्यान अफ दी म्याच घोषित भएका गुरुङले नगद रु ५ हजार प्राप्त गरे ।

त्यस्तै दोश्रो खेलमा हलेसी तुवाचुङ नगरपालिका विजयी बनेको छ । आज भएको दोश्रो खेलमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका विजयी घोषित भएको छ । दोश्रो खेलमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुन्ड नगरपालिकाको टिम प्रतियोगितामा उपस्थित नभएपछि निर्णायकले हलेसी तुवाचुङ नगरपालिकालाई वाकओभरको आधारमा विजयी घोषित गरेको हो । 

अब विहिवारको पहिलो खेल ओखलढुङ्गाको लिखु गाउँपालिका भर्सेस सोलुको नेचा सल्यान गाउँपालिका र दोश्रो खेल ओखलढुङ्गाको मोलुङ गाउँपालिका भर्सेस सोलुको थुलुङ दुधकोशी गाउँपालिकाका बिच हुनेछ ।

प्रतियोगिताका बिजेताले नगद रु ५ लाख सहित २.५ तोला सुन र २ सय तोला चाँदीको शिल्ड प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले नगद रु ३ लाख तथा सेमिफाइनलिष्ट दुई टीमले क्रमशः नगद रु १-१ लाख प्राप्त गर्नेछ । प्रतियोगिता पुष २७ सम्म सन्चालन हुनेछ । प्रतियोगिता मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ३ उँबुको खेलमैदानमा सन्चालन भैरहेको छ ।