नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

मोलीमा सम्पन्न पुरुष भलिबलको उपाधी चम्पादेवीलाई

ओखलढुङ्गान्युज, पुष १८ । मानेभञ्ज्याङ गाउँपालिकाको मोलीमा बुधबार सम्पन्न चौथो मोली खुल्ला पालिका स्तरीय पुरुष भलिबलको चम्पादेवी गाउँ पालिकाले जितेको छ । चम्पादेवी विजयी हुदै नगद रु १ लाख ११ हजार १११ का साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

चम्पादेवी गाउँपालिकाले सोलुखुम्बुको नेचा सल्यान गाँउपालिकालाई पराजित गरेको हो । आज दिउँसो सम्पन्न भएको फाइनल खेलमा ३-० को सोझो सेटमा नै चम्पादेवीले जित दर्ता गर्दै उपाधि जितेको हो । चम्पादेवीले नेचासल्यानलाई फाइनलमा २५-१९, २५-१५ र २५-२० को सेटमा पराजित गरेको हो । पराजित हुदै नेचासल्यानले नगद रु ६६ हजार ६६६ शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 

त्यस्तै मंगलबार तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा सिद्धिचरण नगरपालिकाले मानेभञ्ज्याङ गाउँपालिकालाई पराजित गरेको छ । मानेभञ्ज्याङ गाउँपालिकालाई पराजित गर्दै सिद्धिचरण नगरपालिकाले नगद रु ३३ हजार ३३३ का साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा विधागत उपाधि तर्फ पनि चम्पादेवी गाउँपालिका हावी भयो । प्रतियोगितामा चम्पादेवी गाउँपालिकाका ससित मगर बेष्ट स्पाइकर, सविन श्रेष्ठ बेष्ट ब्लकर, शिवराम मगर बेष्ट डिफेन्डर, समिप श्रेष्ठ बेष्ट प्लेयर घोषित हुदै ट्रफि र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै बेष्ट सेटरको उपाधी भने नेचा सल्यानका अर्जुन राईले हात पारे ।

प्रतियोगिताका बिजेता खेलाडीहरूलाई संघीय राज्य ब्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । मोलीमा लाग्ने पञ्चमी मेलाको अबसर पारेर प्रतियोगिता विगत चार बर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको छ ।