नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल: आयोजक मानेभञ्ज्याङलाई सुरुवाती अग्रता 

ओखलढुङ्गान्युज, पुष १७ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा आजबाट सुरु भएको अन्तर प्रदेश स्थानीय तह मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगितामा आयोजक मानेभञ्ज्याङले विजयी सुरुवात गरेको छ । आज मंगलबार भएको उद्घाटन पहिलो खेलबाट मानेभञ्ज्याङले विजयी सुरुवात गरेको हो ।

आयोजक मानेभञ्ज्याङले सुनकोशी गाउँपालिकालाई ३-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । मानेभञ्ज्याङ गाउँपालिकाले आज भएको खेलको पहिलो हाफमा २-० गोलको अग्रता कायम गरेको थियो । दोस्रो हाफको सुरुवाती समयमा नै थप एक गोल गर्दै ३-० को अग्रता बनाएको मानेभञ्ज्याङ अन्तत विजयी बन्यो ।

विजयी बनेसँगै मानेभञ्ज्याङले अगाडिको यात्रा तय गरेको छ भने सुनकोशी गाउँपालिका बाहिरीएको छ । बुधबारको पहिलो खेल सिद्धिचरण नगरपालिका भर्सेस कटारी नगरपालिकाका बिच हुनेछ ।

प्रतियोगिताका बिजेताले नगद रु ५ लाख सहित २.५ तोला सुन र २ सय तोला चाँदीको शिल्ड प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले नगद रु ३ लाख तथा सेमिफाइनलिष्ट दुई टीमले क्रमशः नगद रु १-१ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिता पुष २७ सम्म सन्चालन हुनेछ । प्रतियोगिता मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ३ उँबुको खेलमैदानमा सन्चालन भैरहेको छ । प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बुले उद्घाटन गरेका थिए ।