नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

लिखुः पाँचौं राष्ट्रपति रनिङशिल्डको उपाधी जनजीवन मावि पोकलीलाई

ओखलढुङ्गान्युज, पुष १५ आज लिखु गाउँपालिकामा सम्पन्न लिखु गाउँपालिका अन्तर माद्यमिक विद्यालय पाँचौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधी जनजीवन मावि वाच्पु, पोकलीले हात पारेको छ । गत शुक्रबारबाट जारी प्रतियोगिता आज सम्पन्न हुदै गर्दा उपाधी जनजीवनले जितेको हो ।

गाउँपालिकाको ९ ओटा वडाहरुमा रहेका ८ ओटा माद्यमिक विद्यालयले सहभागिता जनाएको जनजीवन माविले १३ स्वर्ण, २ रजत, २ कास्यका साथ कूल १७ पदक जित्दै प्रथम भएको हो । जनजीवनले प्रथम हुदै रनिङशिल्ड सहित नगद रु ३० हजार प्राप्त गरेको छ ।

त्यस्तै यसम मावि यसमले १० स्वर्ण, २ रजत, ११ कास्य सहित कूल २३ पदकका साथ दोश्रो भएको छ । दोश्रो भएको यसमले नगद रु २० हजारका साथमा शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी ५ स्वर्ण, २४ रजत, २ कास्य सहित कूल ३१ पदकका साथ ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङटार तेश्रो बनेको छ । तेश्रो बनेको ग्रायुसिले नगद रु १५ हजारका साथमा शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै जाल्पा मावि टारकेराबारीले ३ स्वर्ण, ४ रजत, ९ कास्यका साथ कूल १६ पदकका साथ चौथो बनेको छ । लेति मावि लेति पोकलीले पनि २ स्वर्ण, २ रजत सहित कूल ४ पदक, ज्ञानज्योति मावि कुवापानीले १ स्वर्ण तथा चिउरीडाँडा मावि चिउरीडाँडाले ३ कास्य प्राप्त गरेका छन् ।

गत बर्ष गाउँपालिकाले सञ्चालन गरेको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ढिला हुँदा जिल्ला तथा प्रदेशमा सञ्चालन भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विद्यार्थी खेलाडी सहभागी गराउन नसकेको भन्दै चर्को आलोचनाको शिकार भएको गाउँपालिकाले यसपटक समयमा नै प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिता समयमा नै सञ्चालन गरेपछि औपचारिकता निभाउनका लागि मात्र भन्दा पनि खेलाडीको क्षमता विकास र अवसरमा समेत सहभागिता हुने अवसर प्रदान गराउन निर्णायकहरुले पालिकालाई अनुरोध गरेका थिए ।

प्रतियोगिता सम्पन्न भएसँगै आगामी दिनमा गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका खेलाडीहरुको विकासका लागि थप लगानी गर्ने गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले बताए । विगतका दिनमा के भए भन्दा पनि आगामी दिनमा कसरी खेलाडीहरुको उत्पादन र विकास गर्न सकिन्छ भन्ने बारेमा योजना बनाएर लिखु गाउँपालिका अगाडी बढ्ने गाउँपालिका अध्यक्ष कार्कीले प्रतिबद्धता जनाए ।

उता गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले पनि खेलाडीको विकासका लागि गाउँपालिकाले लगानी गर्न कसर बाँकी नराख्ने बताईन् । पुरुष खेलाडीहरुसँगै महिला खेलाडीहरुको विकासका लागि पालिकाले आगामी दिनमा योजना बनाएर नै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेकी थिईन् ।