नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सिन्धुलीमा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

ओखलढुङ्गान्युज, पुष ९ । शोमबार विहान वीपी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ३ बोहोरेटारमा अरनिको बससँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक हलेसी तुवाचुङ नगरपालिका वडा नं. २ डिकुवाका २० बर्षीय सुसन राई र मोटरसाइकलको पछाडि बस्ने खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका वडा नं. १० बस्ने १८ वर्षीया मुनाकला राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी निरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।

सोमबार बिहान सवा आठ बजे बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको मन्थलीबाट काठमाडौँ तर्फ जादै गरेको बस र विपरीत दिशाबाट आइरहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । तिब्र गतिका कारण मोटरसाइकल र बस ठोक्किएर दुर्घटना भएको आशंका गरिएको छ ।

मोटरसाइकललाई ठक्कर दिने बसका चालक रामेछापको मन्थली नगरपालिका वडा नं. १३ बस्ने २४ वर्षीय रुपेश अधिकारीलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ । दुर्घटनामा दुइजनाको मृत्यु भएपछि स्थानीयले अरनिको यातायात प्रालिको गाडीमा आगजनी गरेका छन् । आगजनी पश्चात बस पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुसन राई हुनुपर्नेमा यसअघि अन्यथा भएकोले सच्याइएको  – सम्पादक