नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

प्रदेश सरकारलाई काम गर्नदिन संविधान कार्यान्वयन होसः मुख्यमन्त्री कार्की

ओखलढुङ्गान्युज, पुष ८ । प्रदेश सरकारले स्वतन्त्र रुपमा काम गर्नका लागि संबिधान पूर्ण रुपमा कार्यान्वय हुनुपर्ने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी, व्यवसायीलाई सम्मान तथा राष्ट्रपति पौडेललाई अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिए संसद र सरकारबाट अधिकार प्राप्तिका लागि समन्वय र संघर्ष गर्ने समेत मुख्यमन्त्री कार्कीले बताए । कार्यक्रममा मुख्यमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनकालागि चासो राखीदिन समेत आग्रह गरेका थिए ।

मुख्यमन्त्री कार्कीले उद्योगी व्यावसायीलाई छुट्टै रूपमा हेर्ने प्रवृतिमा परिवर्तन ल्याएमात्रै उद्योगी व्यावसायीको संरक्षण, अर्थतन्त्रमा योगदान र देश समृद्ध हुने बताए । उनले उद्योगी व्यावसायी छुट्टै नभई राज्यको नै अंगभएको स्विकारेर त्यही अनुसार राज्यले व्यवहार गर्नु अपरिहार्य रहेको बताए । उद्योग, व्यवसाय क्षेत्रको संरक्षण र देशको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गरेर मानवीय विकासमा प्रदेश सरकार लागिसकेको समेत बताए ।

कार्यक्रममा विराटनगरका उद्योगी, व्यावसायी लगायतले राष्ट्रपति पौडेललाई अभिनन्दन समेत गरेका थिए । कार्यक्रममा राष्ट्रपति पौडेलले २१ जना स्वतन्त्रता सेनानी, सबभन्दा बढी निर्यात गर्ने विराटनगरका उद्योगी र विराटनगरका पत्रकारद्वय अनन्त न्यौपाने र शंकर खरेललाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरेका थिए ।