नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

१३ दिनदेखि बेपत्ता खोटाङकी एक महिलाको शब पत्करभित्र

ओखलढुङ्गान्युज, पुष ५ । विगत १३ दिनदेखि बेपत्ता रहेकी खोटाङकी एक महिला पत्करभित्र छोपेर राखिएको अबस्थामा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १० नाखामकी ३६ वर्षीया पवित्रा तामाङ रहेकी छन् । 

गत मङ्सिर १९ गतेदेखि बेपत्ता भएकी तामाङ घरदेखि करिब १५ मिनेटको पैदल दूरीमा रहेको गोठमा पत्कर भित्र मृत फेला परेकी हुन् । श्रीमानसँग सम्बन्धबिच्छेद गरेर माइती घर फर्केकी पवित्रा मङ्सिर–१९ गते राति ८ बजेसम्म टेलिभिजन हेरेर बसेकी थिइन् । भोलिपल्ट २० गते बिहान ओछ्यानमा नदेखिएपछि आफन्तले पवित्राको खोजी सुरु गरेका थिए । दुइदिनसम्म नभेटिए पछि परिवारले मङ्सिर २३ गते मात्र प्रहरीलाई खबर गरेका थिए । 

खोजीका क्रममा पवित्राको शव पत्करले छोपेको अवस्थामा मङ्गलबार फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पवित्राको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । शव शङ्कास्पद अवस्थामा भेटिएकाले घटनाका विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

चार छोरीकी आमा पवित्राले छोरा नजन्माएको भन्दै श्रीमानसँग सधैं झगडा पर्थ्यो । श्रीमानसँग खटपट भएपछि नौ महिना अघि सम्बन्धबिच्छेद गरेर पवित्रा माइती घर आएकी थिइन् । तीन छोरी श्रीमानसँगै छाडेकी पवित्राले कान्छी छोरीलाइ भने सँगैलिएर माइती घर बस्दै आएकी थिइन् ।