नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

ओखलढुङ्गामा लुटपाट पछि बृद्धाको हत्या गर्ने एक किशोर सहित तीनजना पक्राउ

ओखलढुङ्गान्युज, पुष जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ३ प्राप्चामा लुटपाट पछि बृद्धा महिलाको हत्यामा संलग्न भएको आशंकामा एक किशोर सहित तीनजना पक्राउ परेका छन् । गत मंशिर ३० गते प्राप्चामा नै ७७ बर्षिया बृद्धा महिला बालामाया सुनुवारको हत्या गरि फरार भएका तीनजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मोलुङ गाउँपालिका वडा नं. ३ का २५ बर्षिया मान बहादुर भुजेल, वडा नं. ५ प्राप्चाका १९ बर्षका टुक बहादुर कटवाल र वडा नं. ३ प्राप्चा कै १६ बर्षका एक किशोर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए । हत्यागरी फरार भएका उनीहरुलाई गाउँमा नै मंगलबार विभिन्न स्थानबाट पक्राउ गरी बुधबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरीरहेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए ।

गत मंशिर ३० गते साँझ बृद्धा सुनुवारको हत्या गरी उनीहरु फरार भएका थिए । बृद्धा महिला घर भित्र निदालमा डोरीको पासोमा झुण्डिरहेको अबस्थामा शनिवार मात्र स्थानीयले फेला पारेका थिए । बृद्धा डोरीमा झुण्डिरहेको र शरीरका विभिन्न स्थानमा चोट लागेको तथा घर बाहिरबाट चुक्कुल लगाएको अवस्थामा फेला पारेपछि बृद्धाको हत्या भएको स्थानीय र प्रहरीले आशंका गरेको थियो । बृद्धाको हत्या नै भएको आशंका पश्चात प्रहरीले गहिरो अनुसन्धानसँगै घटनाका दोषिहरुको खोजी गरेको थियो । खोजीको क्रममा उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी प्रमुख केसीले बताए ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले बृद्धा महिलालाई टाउकामा ढुङ्गाले हिर्काएर बेहोस बनाएपछि नाक, कान, घाँटीमा लगाएको सुन तथा चाँदीको माला, पैसा समेत लिई निदालमा प्लाष्टिकको डोरीले बाधेर झुण्ड्याई फरार भएको स्विकार गरेको प्रहरीले जनाएको छ । तथापी घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।