नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

ओखलढुङ्गामा एक बृद्धाको लुटपाट पछि हत्या

ओखलढुङ्गान्युज, पुष जिल्लाको मोलुङ गाउँपालिकामा एक बृद्ध महिलाको हत्या भएको छ । हत्या हुनेमा मोलुङ गाउँपालिका वडा नं. ३ प्राप्चाकी ७७ बर्षिया बाल कुमारी सुनुवार रहेकी छन् ।

सुनुवारको शब घरभित्र नै सुत्ने खाटमाथि डोरीले झुण्ड्याईएको अबस्थामा फेला परेको स्थानीय भूमरी लामाले जानकारी दिए । लामाका अनुसार बुद्धा सुनुवारको गलामा र कानमा लगाईएको सुनका गरगहना लुटिएका छन् । उनको कानमा र शरिरका केही भागमा चोट पनि देखिएको छ ।

बुद्धा सुनुवारको विहिबार बेलुका तिर नै हत्या गरिएको आशंका गरिएको छ । सुनुवारको घरमा शुक्रबार विहानै दाउरा चिर्ने कामदार गएका थिए । तर घरको बाहिरबाट ताल्चा लगाएको देखेपछि कामदार दाउरा नचिरी फर्किएका थिए । शनिवार विहान जादा पनि घरमा ताल्चा लागिरहेको देखेपछि हल्लाखल्ला गर्दै सुनुवारको खोजी भएको थियो । शनिवार खोजी गर्नेक्रममा घरको ताल्चा फोडेर भित्र हेर्दा सुनुवार डोरीमा झुण्डिरहेको अबस्थामा फेला परेकी थिईन् ।

केहिदिन अगाडी मात्र घरमा खानेपानीको धारा जोड्नका लागि भनेर उनका नातीले विदेशबाट पैसा पठाएका थिए । पैसापनि पठाएको र घरमा सुनुवार एक्लै भएको बेलामा लुटपाट पश्चात हत्या गरेर आफै आत्महत्या गरेको भनेर बनाउन सुनुवार सुत्ने खाटमाथि झुण्ड्याईएको अबस्थामा फेला परेको लामाले बताए । घरमा सुनुवारको हत्या भएको थाहा पाएपछि शनिवार राति नै काठमाण्डौंमा रहेको उनका आफन्तहरु घर आएका थिए ।

घटनापछि ईलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरका प्रहरी निरीक्षकको नेतृत्वमा जिल्लाबाट प्रहरीको अनुसन्धानको टोली घटनास्थलमा पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए । केसीका अनुसार घटनास्थलमा मृतक महिलाको शबको अबस्था र स्थानीयको जानकारी अनुसार घटना संकास्पद देखिएको र उनको लुटपाट पश्चात नै हत्या गरिएको आशंका गरिएको छ । मृतक महिलाको शबलाई आईतबार जिल्ला अस्पताल रुम्जाटारमा पोष्टमार्टम पश्चात परिवारलाई बुझाईएको र घटनाको बारेमा अनुसान्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।