नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

चौथो मोली खुल्ला पुरुष भलिबलका विजेताले १,११,१११ पाउने

ओखलढुङ्गान्युज, मंशिर २९ । जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. १ मोलीमा चौथो मोली खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आगामी पुष १५ देखी १८ गते सम्म सञ्चालन हुन लागेको हो ।

मानेभञ्ज्याङ्ग गाउँपालिकाको सहयोगमा वडा नं. १ वडा कार्यालयले प्रतियोगिताको आयोजना गरेको हो । आन्तरिक पर्यटन तथा कृषि पुर्वाधार, स्वास्थ्य युवा विकासका साझेदार भन्ने मूल नाराका साथ विगत तीन वर्षदेखी सञ्चालन हुदै आएको उक्त प्रतियोगिता यो चौंथो सिजन हो ।

प्रतियोगितामा प्रथम हुने विजेता पालिकाको टीमले नगद रु १ लाख ११ हजार १ सय ११ का साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा दोश्रो हुने पालिकाको टिमले नगद रु ६६ हजार ६ सय ६६ र तेश्रो हुने टीमले ३३ हजार ३ सय ३३ का साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिता आयोजकले एक सूचना प्रकाशित गरेर पालिकाको एक टिममा १० खेलाडी, १ प्रशिक्षक तथा १ व्यबस्थापक सहित १२ जना हुने पर्ने जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, तथा उत्कृष्ट ब्लकरलाई नगद रु ३ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रको समेत व्यबस्था गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिता मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. १ को पञ्चमी खेलमैदानमा सञ्चालन हुनेछ ।