नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

पुषको १३ देखी १५ सम्म लिखुमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुदै

ओखलढुङ्गान्युज, मंशिर २७ जिल्लाको लिखु गाउँपालिकाले आगामी पुष १३ देखी १५ सम्म पालिका विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । केहिदिन अगाडी गाउँपालिकामा भएको शिक्षा समितिको बैठकले आगामी पुष महिनाको १३, १४ र १५ गते पालिकामा विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो ।

शैक्षिक सत्र २०७९ मा जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएपश्चात गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । जिल्ला स्तरीय छनौट प्रतियोगिता सम्पन्न भएपश्चात औपचारिकता निभाउन र गाउँपालिकाका बजेट अनावश्यक रुपमा खर्च गराउन मात्र पालिकाले खेल सञ्चालन गरेको भन्दै त्यसको विरोध भएका थियो । जिल्ला स्तरीय छनौट पछि खेल सञ्चालन भएको विषयमा केहि प्राविधिक समस्याका कारण खेल सञ्चालन गर्न ढिलाई भएको र आगामी वर्षहरुमा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता लिखु गाउँपालिकामा समयमा नै सञ्चालन गर्ने लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले प्रतिबद्धता जनाएका थिए ।

गत वर्ष केहि गाउँपालिकाले प्रतियोगिता ढिला सञ्चालन गरेको र केहिले समयको अभाव देखाउदै प्रतियोगिता सञ्चालन गरेका थिएनन् । त्यसैले पनि यसपटक भने जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाले गाउँपालिकासँग समन्वय गर्दै समयमा नै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्न आग्रह गरेको थियो । पालिकाले विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड सञ्चालन नगर्दा तथा सञ्चालनमा ढिलाई गर्दा प्रतिभा भएका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरुले माथिल्लो तहमा आफ्नो क्षमता प्रदर्शनका लागि अबसर नपाएको भन्दै यसपटक गाउँपालिकालाई पत्र पठाएर समयमा नै प्रतियोगिता सञ्चालन गर्न आग्रह गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविण कुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समितिको पत्र प्राप्त भएपश्चात अहिले जिल्लाका आठओटै स्थानीय तहहरुले पालिकाको विद्यालय स्तरीय प्रतियोगीता सञ्चालनको निर्णय तथा सुरुवात गरेका छन् । मानेभञ्ज्याङ गाउँपालिकाले केहि समय अगाडी नै पुषको ४, ५ र ६ गते प्रतियोगीता सञ्चालन गर्ने निर्णय गरिसकेको छ । मानेभञ्ज्याङ्गले पालिकाको विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगीतामा सहभागी हुने प्रत्येक विद्यालयलाई व्यबस्थापन खर्च वापत रु ५० हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीलेल बताए । तर लिखुले भने त्यसको विषयमा छलफल भएपनि निर्णय भने नभएको बताएको छ ।