नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

आँखा शिबिरबाट फर्किएको टोली सवार स्कार्पियो खिजिदेम्बामा दुर्घटना

ओखलढुङ्गान्युज, मंशिर १९ ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा आज स्कार्पियो गाडी दुर्घटनामा परेको छ । खिजिदेम्बा गाउँपालिका वडा नं. ८ भुसिंगाको भुसिंगा आधारभूत विद्यालयमा आँखा शिविर सञ्चालन गरेर फर्किदै गरेको रेस्क्यू नेपालको टीम सवार प्र ३–०१–०२ च ८३६९ नम्बरको गाडी भुसिंगा कै भित्री कच्ची सडकमा दुर्घटनामा परेको हो ।

गाडी दुर्घटनामा परि गाडी चालक सुर्खेत जिल्लाको सुन्दा गाउँपालिका वडा नं. ८ का बर्ष ३४ का बुद्धिलाल लोहार घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी बलिष्टार सिंहले जानकारी दिए । गाडीमा अन्य ८ जना समेत सवार रहेको भएपनि अन्य भने सकुशल रहेको सूचना अधिकारी प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

आँखा शिविर सकेर शिविरमा सहभागी स्वास्थ्यकर्मी सहितको टोली लिएर फर्कदै गरेको उक्त स्कार्पियोको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ब्रेकफेल भएर गाडी सडकमा नै पल्टिएको र उक्त सडक खण्डमा दुर्घटना भएको गाडी नपन्छाएसम्म ठूला सवारी साधान चल्न नसक्ने गरि बाटो हाल अबरुद्ध रहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।