नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

हमासको आक्रमणमा ईजरायलमा १० नेपालीको मृत्यु

ओखलढुङ्गान्युज, असोज २२ । शनिबार बिहान इजरायलमा प्यालिस्टाइन विद्रोही हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका पुष्टि भएको छ । आक्रमणमा परि १० जना नेपाली मारिएको पुष्टि भएको इजराइलका लागि नेपाली राजदूतवासले जानकारी गराएको हो ।

तस्वीरः सामाजिक सञ्जाल

प्रयोगात्मक सिकाईका लागि बसेका विद्यार्थीहरु रहेको क्याम्पसमा हमासले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको, दुईजना गम्भिर घाईते भएको राजदूतावासले जनाएको छ । त्यस्तै त्यहाँ एकजना सम्पर्क विहिन रहेको तथा चारजना भने सुरक्षित रहेको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको राजदूतावासले जनाएको छ । हमासले आक्रमण गरेको क्याम्पसमा मृत्यु तथा घाईते हुने सबै प्रयोगात्मक सिकाइका लागि गएको भदौ १८ र १९ गते इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी हुन् ।

ज्यान गुमाउनेहरूमा घोडाघोडी –४ कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी –६ बझाङका गणेशकुमार नेपाली, बौनिया –३ कैलालीका आशिष चौधरी, लेकम–०५ दार्चुलाका दिपेशराज विष्ट, सपही –०६ धनुषाका आनन्द साह, मधुवन –१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–०३ डोटीका राजन फुलरा, लमिखल –८ डोटी पदम थापा, शारदा –३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन –४ दार्चुला लोकेन्द्रसिंह धामी रहेको राजदूतवासले जनाएको छ ।

त्यस्तै सल्यानका विधान सेजवाल, दाङका प्रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलको उपचार भइरहेको छ भने कञ्चनपुरका विपिन जोशी बेपत्ता रहेका छन् । घटनामा परेका सल्यानका प्रमोद केसी र कैलालीका वीरेन्द्र चौधरी भने सुरक्षित रहेका दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आईतवार एक विज्ञप्ती जारी गर्दै मृत्यु भएका नेपालीको शब पहिचान गर्ने कार्य भैरहेको जनाएको छ ।  विज्ञप्ती मार्फत मन्त्रालयले शव पहिचान गरी तत्काल नेपाल ल्याउन र घाइतेको उद्धार तथा उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।