नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

स्मृतिमा वशीभुत तन्द्रा

ओखलढुङ्गान्युज, भदौ १५ ।  
 
शनै:शनै ऋतु कालसँगै
अब त मकैका पातहरु पनि
पहेँलिदै सुक्दै जान थाले होलान् ।
 
बिस्तारै बिस्तारै भुइँ बादलहरु उठेर
उचाई लिँदै माथी माथी उड्न थाले होलान ।
 
बर्षभरी कुइरोको घुम्टो ओढेर लजाइ रहने
मेरो गाउँ पनि
अब त वारि-पारी छर्लङ्ग देख्ने भयो होला।
 
धत्,
आजभोलि भन्दा भन्दै
दिनहरु गन्दा गन्दै
मौसमसँगै ज्यास्ती गाउँको याद आउन थालेछ !
 
खहरे खोल्सीहरु
अनि साउने सिमको मुलहरु 
बिस्तारै बिस्तारै बग्न ,अल्छी मान्न थाले होलान् ।
 
बाटोघाटो खेत खलियान अनि घर आँगन 
सुख्खा हुँदै गयो होला, 
आँखै खोल्न नदिने बर्षे झरी पनि 
अब त सुस्त सुस्त रोकिँदै मत्थर हुँदैगए होलान् ।
 
शरद ऋतुको स्वागतमा तम्तयार मौसम पनि
पारिलो घामसँगै
दशै आएको सुचना संकेत दिँदै
मन्द मन्द मुस्कुराउन थालिसके होलान् ।।
 
भो, यसपालि त कसैगरी घर जान्छु म पनि !!!
 
घर गाउँमा यसपालि त आउछु भन्नेहरुको 
खबर पनि पक्कै अब त घरघरमा पुगिसके होलान् ।
 
हर घरमा नवरात्री र फुलपातिको तयारीमा 
गच्छे अनुसारको भाले, हाँस, बोका राँगा
अनि खर्चको चाँजो टुङ्गो लाइसके होलान् ।
 
वास्ना छर्दै कानमा सिउरिन उद्यत
गोदावरीको बोटहरुमा पनि
स-साना टोटला लाग्न थाली सक्यो होला,
 
ओहो!
सिरानी उल्टो पारुँ कि कोल्टे फेरुँ, 
मरे निद परे पो !
 
रोटि हाल्न सुकेको खरो दाउराको
जोहो गर्दै होलिन आमा,
सरङ भरी काउलो पनि त सुकाए होलान आँगनिमा ।।
 
सम्झँदै गयो
दाहाल गाउको हरिहर ठुला बा’ले गुनगुनाउने गरेको
मालश्रीको मधुर मंगल धुन
कानै वरिपरि गुञ्जिन थाल्छ।
 
यसपाली त आउलान् नि त हाम्रो केटो पनि,
भन्दै मेरा पनि घरमा
पक्कै बाटो हेर्न थाले होलान् ।।
 
नगएको पनि त धे'””‘रै भयो !!!
आSsss! यसपालि त जानैपर्छ कसैगरी, 
 
क्षणभङ्गुर हुन्छ तन्द्राको
स्मृति र स्मृतिमा वशीभुत तन्द्रा भङ्ग,
 
सङका साथीभाई नभेटेको पनि धे”रै भयो,
आफ्नै घरको जस्केलो नटेकेको पनि धेरै भयो ।।
 
कहिले कसो त लाग्छ
सायद अब त भुले पनि होलान पर्देशिलाई !?
कहिले कसो त लाग्छ
सधैको यस्तै त हो नि नाथु पर्देशिलाई!।
 
फेरि क्षणमै स्मृतिमा आउँछ
उहि बरबोटे भञ्ज्याङ्को छ पिर्के रोटे पिङ,
झलझली आउछ चचहुई चिच्याउदै खेल्ने गरेको
स्कुल डाँडाको ढुङ्ग्रे बाँसको चार सुरे लिङ्गे पिङ।।
 
ओहो! अलि बढी नै पो याद आयो क्यारे……!!!
आSsss! यसपालि त जानैपर्छ कसैगरी……!!!
रामजी तामाङ  – बिर्ख…✍️