नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

झण्डै ४ करोड लिएर फरार आरम्भ चौतारी लघुवित्तका पूर्व हाकीम सापकोटा पक्राउ

ओखलढुङ्गान्युज, भदौ ११ बचतकर्ताहरुको रकम हिनामिना गरेर फरार रहेका आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था ओखलढुङ्गाका पूर्व प्रमुख ज्ञानेन्द्र सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरुको रकम हिनामिना गरेर फरार रहेका सापकोटालाई भदौ १० गते आईतबार काठमाण्डौंको कपनवाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १ साविकको बलखु गाविस वडा नं. ८ स्थायी घर भएका सापकोटाले ओखलढुङ्गामा रहेको आरम्भ चौतारी लुघवित्त वित्तिय संस्थाको प्रमुख भएको बेला बचतकर्ताको रकम हिनामिना गरेका हुन् । सापकोटाले लघुवित्तको शाखा प्रमुख रहेको बेला लघुवित्तमा आबद्ध रहेका विभिन्न समूहका २५७ जना सदस्यहरुको ३ करोड ८४ लाख ३९ हजार ३ सय ६० रुपैया हिनामिना गरि फरार रहेका थिए ।

लघुवित्तको बदनाम हुनेगरि समूहका सदस्यहरुको रकम हिनामिना गरेर फरार रहेपछि तत्कालीन शाखा प्रमुख सापकोटाका विरुद्ध बर्तमान शाखा प्रमुख बैकुण्ठ लुईटेलले गत २०७९ फागुन १५ गते प्रहरीमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी आएपछि खोजी गर्नेक्रममा लुकिछिपी हिडेका सापकोटालाई भदौ १० गते काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका १० कपनवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

बर्तमान शाखा प्रमुख लुईटेलले दिएको उजुरीमा तत्कालीन शाखा प्रमुख सापकोटाले समूहका २५७ सदस्यहरुको किर्ते तमसुक बनाएर नक्कली कागजात खडा गरि अनियमितता गरेको आरोप छ । प्रहरीमा परेको बैंकिङ कसुरको मुद्धामा सापकोटालाई पक्राउ गरि अदालतको आदेश अनुसार उच्च अदालत मोरङको विराटनगरमा पेश गरेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

पक्राउ परेका तत्कालीन शाखा प्रमुख सापकोटाले कतिपय सदस्यहरुको नागरिकता र फोटाको समेत दुरुपयोग गरि धेरैजनाको एकाउण्ट क्रियट गरि मेरो सेयरमा लगानी गरेको समेत आरोप लागेको छ । आफूहरुको रकम हिनामिना गरेर हाकिम फरार भएपछि रकम फिर्ताका लागि बचतकर्ताहरु बारम्बार लघुवित्तमा धाईरहेका छन् । तर लघुवित्तले भने विभिन्न बहानामा बचतकर्ताहरुको बचत पनि फिर्ता नगर्ने र लघुवित्तका विरुद्ध प्रहरीमा उजुरी गर्न जान समेत रोक्दै आएका छन् । हाकिम फरार भएपनि संस्था नभागेकोले आफ्नो पसिना फिर्ता हुने आशामा प्रहरीमा उजुरी गर्न नगएको बचतकर्ताहरुले बताउदै आएका छन् ।