नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा

ओखलढुङ्गान्युज, असार १८ शोमबार भएको आफ्नो खेलमा सिंगापुरलाई पराजित गर्दै नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधिका लागि मलेशियासँगको भिडन्त पक्का गरेको हो ।

शोमबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको थियो । पहिले व्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा नौ विकेट गुमाएर १ सय ८४ रन मात्र बनायो । १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिङ्गापुरले ३१ दशमलव तीन ओभरमा सवै विकेट गुमाएर ८७ रन मात्र बनाउदै तेश्रो स्थानका लगि भिडन्त पक्का बनायो ।

प्रतियोगिताको सुरुवातमा ब्याटिङ गर्ने क्रममा नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी निभाए । कोइरालाले ४९ बल खेल्दै छ चौकाको मद्दतमा ४३ रनको योगदान दिए ।

यस्तै यादवले ४९ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरी ४२ रन बनाए । यसैगरी अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले अविजित १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाएका थिए ।

उता बलिङतर्फ सिङ्गापुरका हरिहरनले तीन तथा हर्ष वेङ्कटरम र कबिर बेर्लियाले दुई/दुई विकेट लिए ।  एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सिङ्गापुरका लागि रोशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए।

नेपालले अब फाइनल मलेसियासित मङ्गलबार खेल्नेछ ।