नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

१० किलोमिटर म्याराथुनको उपाधी रविन र दिकुलाई

ओखलढुङ्गान्युज । २७ फागुन, जन्तरखानी । जलदेवी समाजसेवी युवा क्लव जन्तरखानीले आयोजना गरेको १० किलोमिटर म्याराथुन दौडको उपाधी रविन र दिकुले जितेका छन् । म्याराथुनमा पुरुष तर्फ रविन बस्नेतले ४४.३० मिनेटमा दुरी पुरा गरेका थिए भने महिला तर्फ दिकु शेर्पाले ६०.४ मिनेटमा दुरी पुरा गर्दै प्रथम भए ।

त्यस्तै पुरुष तर्फ जंगवीर राईले ४५.४४ मिनेटमा दुरी पुरा गर्दै दोस्रो, सुसन श्रेष्ठ ४६ मिनेटमा दुरी पुरा गर्दै तेश्रो र शुरेश कुलुङले ५१ मिनेटमा दुरी पुरा गर्दै सान्त्वना स्थान हासिल गरेका थिए । त्यसैगरी महिला तर्फ प्रविना राई दोस्रो, रुमाली मगर तेश्रो र इन्दिरा मगर सान्त्वना भएका थिए ।

पुरुष तर्फका विजेताहरुलाई क्रमशः नगद रु. १५ हजार, १० हजार, ७ हजार र ५ हजारका साथ प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै महिला सहभागिहरुलाई छुट्टै पुरस्कारको ब्यवस्था नगरिएको भएपनि प्रोत्साहन स्वरुप विजेताहरुलाई क्रमशः नगद रु. ५ हजार, ३ हजार, २ हजार र १ हजार ५ सय सहित प्रमाणपत्र गरिएको आयोजक समितिका सदस्य सुर्य बहादुर मगरले जानकारी दिए ।

म्याराथन दौडका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सभामुख बाबुराम गौतम, विशेष अतिथि चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा लगायतले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

जलदेवी समाजसेवी युवा क्लव जन्तरखानीको २५ औं बार्षिक उत्सव (रजत जयन्ती) को अबसर पारेर नेपाल पर्यटन बोर्डको सहयोगमा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले क्लबले म्याराथनको आयोजना गरेको हो । क्लबको रजत जयन्तीको अवसरमा विहीबार देखि खुला भलिबल प्रतियोगिताको फाइनल खेल आइतबार सन्चालन हुनेछ ।