नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

नयाँ सरकार बनेसँगै सेयर बजारमा उत्साह

ओखलढुङ्गान्युज ११ पुष, काठमाण्डौं नेकपा एमालेको समर्थनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेसँगै नेपाली शेयर बजारमा उत्साह छाएको छ । नयाँ सरकारसँगै नयाँ अर्थमन्त्री आउने भएपछि सेयर बजारका लगानीकर्तामा उत्साह देखिएको हो ।

विगत केहि दिनदेखि निरन्तर उतारचढावका साथ तल झरेको नेप्से परिसूचक सोमबार एकाएक ५ दशमलब ८६ अंक बढेर १९२४ दशमलब ०७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८ दशमलब ३८ अंकले, फ्लोट इण्डेक्स ४दशमलब ५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ३ दशमलब ९७ अंकले बढेको छ ।

सोमबार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर २ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बढेको नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । नेप्सेका १३ उपसमूह मध्ये अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ ।

जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ६ दशमलब ५२ प्रतिशत बढेको छ । जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । अन्य उपसमूहको परिसूचकभने २ दशमलब २९ प्रतिशत घटेको छ ।