नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

प्रहरीका लागि प्रदेश सरकारको स्कटीङ मोटरसाईकल

ओखलढुङ्गान्युज । ६ असोज, विराटनगर ।  सुरक्षालाई चुस्त दुरुस्त राख्नका लागि भन्दै प्रदेश नं. १ सरकारले सुरक्षा निकायलाई बुधबार स्कटीङ मोटरसाइकल हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा सुरक्षाकर्मीलाई प्रदेश सरकारले मोटरसाइकल हस्तान्तरण गरेको हो ।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारले सडकको सुरक्षामा गम्भीर भएर काम गरिरहेको बताउनुभयो । सडक सुरक्षालाई मध्य नजर गर्दै सुरक्षा निकायलाई श्रोत र साधन सम्पन्न बनाउने उद्धेश्यले स्कटीङ मोटरसाईकल हस्तान्तरण गरिएको राईको भनाई थियो ।

त्यस्तै कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले अपराधलाई न्यूनीकरणका गर्नका लागि सुरक्षाकर्मीलाई मजबुद बनाउनु पर्नेमा जोड दिनुभयो । मन्त्री कार्कीले सुरक्षाकर्मीलाई श्रोत साधन जुटाउन प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै स–साना कदमबाटै अपराध न्यूनीकरण हुँदै जाने बताउनुभयो । मन्त्री कार्कीले सडक अपराधलाई प्रविधिले निगरानी बढाउने भन्दै मुख्य राजमार्गमा सरकारले सिसी क्यामेरा जडानको कार्य समेत गरिरहेको बताउनुभयो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट खरिद भएका ६ थान मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरिएको हो । मोटरसाइकल ग्रहण गर्दै प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख सुदीप गिरिले सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । ट्राफिक प्रहरीलाई यातायात व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्थामा प्रदेश सरकारको सहयोगले राहत पैदा भएको उहाँको भनाई छ । मोटरसाइकल वितरण अगाडि प्रदेशको सडक सुरक्षाकाबारेमा प्रस्तुतीकरण गरिएको थियो ।