नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

दशैंको टिकाको साईत सार्वजनिक, उत्तम साईत विहान ११ बजेर ५१ मिनेटमा

ओखलढुङ्गान्युज । भदौ ३१, काठमाण्डौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार यस वर्षको विजया दशमीको साईत सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको साईत अनुसार यस वर्षको टिकाको उत्तम साईत असोज १९ गते बुधबार विहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार १९ गते बुधबार बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । यस वर्ष दशैंको टिका पूर्वी मोहडा गरेर लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

विजयादशमीका दिन टीका दिनभर लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएके छ । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने पनि समितिले जनाएको छ ।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ।

यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्र प्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको साइत शुभ रहेको पनि पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ । असोज १८ गते मङ्गलबार महानवमी पर्व परेको छ । असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो ।