नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सवारी साधनको भाडादरमा ओखलढुङ्गा प्रशासनको कडाई

ओखलढुङ्गान्युज । २७ भदौ, ओखलढुङ्गा । हिन्दूहरुको महान् चाड बडादशैं तथा दिपावली नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सवारी साधनको भाडा दरमा कडाई गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा आईतवार बसेको सर्बदलीय/सर्वपक्षीय बैठकले सवारी साधनको भाडादरको अनुगमन र आवश्यक परेमा कार्वाही समेत गर्ने निर्णय गरेको हो ।

नजिकिदै गरेको चाडपर्वका बेला हुनसक्ने कालोबजारी, ठगी र महंगी नियन्त्रणका लागि अनुगमन र कारबाहीमा कडाई गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । आइतबार बसेको बैठकले चाडपर्वलाई शान्तिपुर्ण र सौहार्द बनाउन सुरक्षा संयन्त्रलाई कार्ययोजना बनाउने जिम्मेवारी समेत दिएको छ ।

चाडपर्वका बेला यातयात व्यवसायीहरुले तोकिए भन्दा बढी भाडा असुल गरेको, अपाङ्ग लगायत लक्षित वर्गलाई सिट नछुट्याएको र सिट क्षमता भन्दा बढि यात्रु राखि जोखिमपुर्ण यात्रा गरेको पाइएमा तत्काल कारबाही गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।

चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती, लुटपाट, झै–झगडा तथा अन्य अपराधिक गतिविधि रोकथाम र नियन्त्रणका लागि चनाखो रहन प्रहरी प्रशासनलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जानकारी दिए । बजारमा रहेको अखाद्य पद्धार्थहरुको अनुगमन, यातायात सञ्चालनको अनुगमन गर्नुका साथै स्थानीय स्तरमा सञ्चालनमा रहि अबरुद्ध रहेका सडकको सञ्चालनका लागि स्थानीय सरकारहरुसँग समन्वयका लागि अनुरोध गर्ने समेत बैठकमा निर्णय भएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।

बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपुर्ण र सौहार्द वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा योजना लगायतको तयारी थाल्ने निर्णय गरेको पनि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।