नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

१ लाख १५ हजार म्यादीमा दरखास्त आव्हान

ओखलढुङ्गान्युज २६ भदौ, काठमाण्डौं सरकारले आईतवार एक सूचना प्रकाशित गर्दै  १ लाख १५ हजार म्यादीको दरखास्त आव्हान गरेको छ । आगामी मंशिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावका लागि सरकारले नेपाल प्रहरी मार्फत म्यादी प्रहरीमा भर्ना खुलाएको हो ।

प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनोट शाखाले म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड–२०७९ अनुसार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले यही भाद्र ३० गतेदेखि असोजको ६ गतेसम्म दरखास्त बुझाउन सक्ने सूचनामा उल्लेख छ ।

दरखास्त सम्बन्धी फारम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छनोटमा यसअघिका चुनावमा म्यादी प्रहरीमा छनोट भइ सन्तोषजक काम गरेकालाई मुख्य प्राथमिकतामा राखिएको सूचनामा उल्लेख छ ।

दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म आवेदक १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको हुनुपर्ने उल्लेख छ ।

असोज ७ गते सम्पर्क मिति रहेको छ । म्यादी प्रहरीमा छनौट भएपछि कार्यअवधि भने ४० दिन तोकिएको छ । म्यादी प्रहरीले न्यूनतम सेवासुविधा ३४ हजार ७ सय ६० रुपैयाँ पाउनेछन् ।

म्यादी प्रहरी छनौट सम्बन्धी सूचना :