नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

एमालेमा पनि लफडा ! प्रतिनिधि सभा सदस्यमा ओखलढुङ्गाबाट तिनजना सिफारिस

ओखलढुङ्गान्युज । २३ भदौ, ओखलढुङ्गा । अन्य राजनीतिक पार्टीको सिको गर्दै नेकपा एमालेले पनि ओखलढुङ्गाबाट प्रतिनिधि सभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेको छ । आशन्न म‌ंसिर ४ गतेकाे निर्वाचनका लागि जिल्लाबाट सर्बसम्मत नाम सिफारिस हुन नसक्दा तीन जनाको नाम सिफारिस गरेको हो । 

गत २० गते देखि निरन्तर बसेको बैठक र छलफलमा सर्वसम्मत नाम सिफारिस हुन नसक्दा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको उमेद्वारको टुङ्गो केन्द्रले लगाउने गरि जिल्लाबाट सिफारिस गरेको जिल्ला पार्टी सचिव कमल प्रसाद न्यौपानेले जानकारी दिए । प्रतिनिधि सभा सदस्य पदका लागि एमालेले यज्ञराज सुनुवार, किशोर अधिकारी र अम्बिरबाबु गुरुङको नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रतिनिधि सभाको समानुपातिक तर्फ शकुन्तला राजभण्डारी (महिला खुल्ला), चम्पा राई (जनजाती महिला), ओम दयाल बिश्वकर्मा (दलित) सिफारिसमा परेका छन् ।

एमालेको बुधबार सम्पन्न जिल्ला कमिटीको बैठकले प्रदेश सभा निर्वाचन क्षेत्र क तर्फ प्रत्यक्षमा मोहन कुमार श्रेष्ठ, शंकर कटवाल र हर्कबोल राईलाई सिफारिस गरेको छ । त्यस्तै समानुपातिक तर्फ बल बहादुर परियार (दलित), मणिराज वाहिङ राई (अल्पसंख्यक / जनजाती) र पशुपति गुरुङ (महिला/जनजाति ) लाइ सिफारिस गरेको छ ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नं. ख मा प्रत्यक्ष तर्फ नानिबाबु बुढाथोकी र ज्ञान बहादुर खड्का (जिबी) लाइ सिफारिस गरेको छ भने समानुपातिक तर्फ शान्ता ढुङ्गेल (खुल्ला महिला), प्रेम प्रसाद भट्टराई (खुल्ला) लाइ सिफारिस गरेको छ ।

कार्यकर्ताहरुले प्रदेश सभा निर्वाचन क्षेत्र नं ख मा जिवी खड्काको एकल नाम पठाउन नेतृत्वलाई दवाव दिएका थिए ‌। क्षेत्रीय कमिटीको बैठकमा खड्काको नाम सिफारिस भएर आएपनि जिल्लावाट भने नानीबाबु बुढाथोकीको पनि नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटीको बैठकमा प्रस्ताव पास गरेर आएको कुरा जिल्लामा परिवर्तन भएपछि कार्यकर्ताहरुले भने असन्तुष्टि जनाएका छन् । कार्यकर्ताहरुकाे सिफारिस बाहेककाे नाममा टिकट आए विद्राेह गरिने एक जिल्ला सदस्यले बताए ।

संघमा दुई केन्द्रीय सदस्य तथा एक प्रदेश सांसदकाे नाम सिफारिस भएसँगै नेता तथा कार्यकर्ता बिच गुटगत विवाद सुरु भएको छ । कार्यकर्ताको भावना विपरित सिफारिस भएकाले टिकट पाए निर्वाचन परिणाम फरक आउने एमालेका एक जिल्ला नेताले बताए। 

ती नेताका अनुसार एमाले भित्रकाे हाल फेरिएकाे समिकरणले संघमा प्रदेश क का स‌ांसद अम्वीर गुरुङ र प्रदेश तर्फ ख मा जीवी खड्का र क मा माेहनकुमार श्रेष्ठ पार्टीभित्र बढी चर्चाका पात्र देखिएका छन् । यद्यपी एमालेमा प्रदेश हुँदै केन्द्रमा पुगेर मात्रै टिकटकाे यकिन हुने जिल्ला पार्टी सचिव न्यौपानेले बताए ।