नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

सिफारिस भएका मध्ये ओखलढुङ्गावाट कांग्रेसका सुनुवार बलिया उम्मेदवार भएको दाबी

ओखलढुङ्गान्युज २० भदौ, ओखलढुङ्गा आउँदो मंसिर ४ गते हुने चुनावका लागि नेपाली कांग्रेस ओखलढुङ्गाले उमेदवारहरुको सिफारिस गरेको छ । प्रतिनिधी सभाका लागि एक निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गावाट एक जनाको मात्र नाम सर्वसम्मत हुन नसकेपछि कांग्रेसले चार जनाको नाम सिफारिस गरेर पठाएको छ ।

प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फ सिफारिस हुनेमा कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार, केन्द्रीय सदस्य रामहरि खतिवडा, महाधिवेशन प्रतिनिधि खीलानाथ दाहाल र बालकृष्ण दाहाल रहेका छन् । कांग्रेस ओखलढुङ्गाको शनिवार बसेको बैठकमा एकजनाको मात्र नाम सर्बसम्मत हुन नसकेपछि चारैजनाको नाम सिफारिस गरेर पठाएको कांग्रेसका एक जिल्ला नेताले बताए ।

सिफारिस भएका चारजना मध्ये ओखलढुङ्गा कांग्रेसको २ पटक सभापति भएर नेतृत्व सम्हाली सकेका र लामो समय राजनीति गरेका सुनुवारको नाम पहिलो नम्बरमै सिफारिश भएको छ । २०४१ सालदेखि राजनीतिक यात्रा सुरु गरेका सुनुवार ओखलढुङ्गा कांग्रेसका बलिया उम्मेदवार मानिन्छन् । जिल्लामै बसेर संघर्ष गर्ने र नेता कार्यकर्ताको मन जित्ने मध्येका चतुर नेतामा सुनुवार पर्दछन् ।

२०७४ सालमा भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा एमाले र माओवादी विच भएको गठबन्धनका कारण प्रतिनिधी सभामा एमालेका यज्ञराज सुनुवार, प्रदेश क मा एमालेका अम्बिरबाबु गुरुङ र प्रदेश ख मा माओवादी केन्द्रका मोहन कुमार खड्का हिमशिखर विजयी भएका थिए । माओवादी र एमाले बिच भएको चुनावी गठबन्धनका कारण प्रतिनिधी सभामा कांग्रेसका रामहरि खतिवडालाई एमालेका यज्ञराज सुनुवारले ठूलो मतान्तरले पराजित गरेका थिए । त्यस्तै प्रदेश सभा ख मा पनि माओवादीका खड्काले कांग्रेसका तत्कालीन सभापति प्रदिप कुमार सुनुवारलाई पराजित गरेका थिए । तर यस पटक भने जिल्लामा मुख्यगरी कांग्रेस र माओवादी केन्द्र विच गठवन्धन हुने चर्चा छ ।

यसपटक एमाले बाहेकको गठबन्धनका कारण जिल्लामा कांग्रेस र माओवादी केन्द्रमध्ये कसले प्रतिनिधी सभाको टिकट लिने भन्ने विषयमा बहस सुरु भएको छ । माओवादीले पार्टीका सचिव राम कार्कीलाई संघको एकल उम्मेदवार बनाएको छ । तर पनि जिल्लामा मुख्य प्रतिष्पर्धी मानिएको कांग्रेसभित्र संघको उम्मेदवार को बन्ने भन्ने विषयमा बहस टुङ्गो लागिसकेको छैन ।

प्रतिनिधी सभामा गठबन्धनबाट कांग्रेसकै उम्मेदवार कायम भए ओखलढुङ्गा कांग्रेसलाई जित निकाल्न थप चुनौती छ । जिल्लामा प्रतिनिधी सभाका उम्मेदवारले माओवादी केन्द्रलाई मिलाउन सक्ने नेता पनि जरुरी भएको विश्लेषण सुनिन थालेको छ । कांग्रेसकै कतिपय कार्यक्रमहरुमा जनजातिको मत तान्न सक्ने उम्मेदवारको खाँचो भएको कार्यकर्ताहरु बताउन थालेका छन् । कांग्रेसबाट सिफारिश भएका ४ जना नै उम्मेदवार कांग्रेसका लागि बलिया उम्मेदवार हुन् । तर अहिलेको अवस्थामा सुनुवार  बाहेक ओखलढुङ्गामा अर्का कांग्रेस नेताले जित निकाल्न नसक्ने कांग्रेसका एक जिल्ला नेताले बताए ।