नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गावाट संघमा माओवादीका राम कार्कीको नाम सिफारिस

ओखलढुङ्गान्युज १९ भदौ, ओखलढुङ्गा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ओखलढुङ्गाले आगामी मंशीर ४ गते हुने निर्वाचनका लागि उमेदवारहरुको नामावलीको टुङ्गो लगाएको छ । मंशीर ४ गते हुने संघिय निर्वाचनका लागि ओखलढुङ्गावाट माओवादी केन्द्रले राम कार्की (पार्थ क्षत्री) को नाम सर्बसम्मत रुपमा सिफारिस गरेको छ ।

माओवादी केन्द्रको शनिवार ओखलढुङ्गामा बसेको बैठकले संघमा प्रत्यक्ष र समानुपातिकमा सर्बसम्मत रुपमा उमेद्वारको टुङ्गो लगाएको छ । संघमा सर्वसम्मत भएपनि प्रदेश सभा अन्तर्गत दुवै निर्वाचन क्षेत्रमा उमेदवारको सिफारिसमा भने सर्बसम्मत हुन नसक्दा १ भन्दा बढि उमेदवारको नाम सिफारिस गरेको छ ।

बैठकले संघिय निर्वाचनको लागि प्रत्यक्षमा राम कार्की र समानुपातिकमा चम्पा कार्की आशाको नाम सर्बसम्मत रुपमा सिफारिस गरेको हो । प्रदेश सभा अन्तर्गत निर्वाचन क्षेत्र नं. क मा भने प्रत्यक्षमा राम कुमार कार्की, नरेन्द्र खतिवडा र खुद बहादुर खत्री कल्याणको नाम सिफारिस गरेको छ । प्रदेश सभा ख मा भने वर्तमान अर्थ समिति सभापति एवम् प्रदेश सभा सांसद एबम् माओवादीका ओखलढुङ्गा जिल्ला सहईञ्चार्ज मोहन कुमार खड्का हिमशिखर, केन्द्रिय सदस्य बाबुराम गौतम आकाश, प्रदेश समिति सदस्य खड्ग योगी अनिलको नाम सिफारिस गरेको जनाएको छ ।

प्रदेश सभा अन्तर्गत निर्वाचन क्षेत्र नं. ख मा प्रत्यक्ष उमेदवारीमा दावी गर्दै आएका पार्टीका जिल्ला सचिब विनोद कुमार सुनुवार संग्रामले भने सिफारिसमा असन्तुष्टि जनाएका छन् । पारिवारिक समस्याका कारण बैठकमा उपस्थित नभएका सचिव सुनुवारले आफ्नो दावी प्रत्यक्षमा रहेको भएपनि बैठकले अल्पसंख्यकको कोटामा समानुपातिकमा सिफारिस गरेकोमा असन्तुष्टि जनाएका हुन् ।

पार्टी केन्द्रले आगामी निर्वाचनका लागि उमेदवारको सिफारिस गर्दा सकेसम्म सर्वसम्मत र सर्वसम्मत हुन नसकेमा बढिमा एक निर्वाचन क्षेत्रवाट तिनजनाको मात्रै नाम सिफारिस गर्न परिपत्र गरेको प्रदेश कमिटिका सदस्य एकिन्द्रराज कटवालले जानकारी दिए । सचिव सुनुवारले प्रत्यक्षमा दावी गरेको विषयमा जिल्ला संयोजक निशान्त शर्मालाई जानकारी गराएको बताएपनि बैठकमा उक्त विषय भने छलफलमा नआएको कटवालले जानकारी दिए । सचिव सुनुवारले भने सामाजिक सञ्जाल मार्फत नै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

त्यस्तै प्रदेश सभा अन्तर्गतको समानुपातिक कोटामा भने झण्डै एक दर्जन नेताहरुको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले प्रदेश सभा अन्तर्गत निर्वाचन क्षेत्र नं. क मा समानुपातिक तर्फ आदिवासी जनजातिवाट गुण कुमार राई रुपक र रुपेश शाक्य, महिलावाट मनिषा राई, खस आर्यवाट ठगेन्द्र दाहाल तथा दलितवाट सविन विकको नाम सिफारिस गरेको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं. ख मा समानुपातिक तर्फ खस आर्यवाट रञ्जन खड्का, एकिन्द्रराज कटवाल, मुकुन्द कार्की र शिवराम खड्का, दलितमा रेशम कुमार परियार, दलित महिला सिता नेपाली, आदिवासी जनजातिवाट शन्त बहादुर तामाङ र बल बहादुर राई, अपाङ्गवाट नवराज खड्का तथा अल्पसंख्यक कोटावाट विनोद सुनुवार संग्रामको नाम सिफारिस गरेको हो ।

माओवादी केन्द्रले भदौ २० सम्म सबै जिल्लावाट प्रत्यक्ष तथा समानुपातिक तर्फवाट उमेदवार बन्ने सम्भावित उमेदवारहरुको नामावली सिफारिस गर्न परिपत्र गरेको थियो । सोहि परिपत्र अनुसार माओवादी केन्द्र ओखलढुङ्गाले १८ गते प्रदेश सभा क र २० गते ख को उमेदवार टुङ्गो लगाउने गरि बैठकको आव्हान गरेको थियो । तर १८ गते ओखलढुङ्गामा बसेको बैठकले दुवै निर्वाचन क्षेत्रका उमेदवारहरुको नामावलीको टुङ्गो लगाएको हो ।