नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

कक्षा १२ को नतिजा सार्वजनिक, ४८ प्रतिशत मात्रै पास

ओखलढुङ्गान्युज । १७ भदौ, काठमाण्डौं । शुक्रबार ढिला गरेर राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको गत जेठ १६ गते देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

शुक्रबार अपरान्ह बसेको परीक्षा बोर्डको बैठकले नतिजा प्रकाशन गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले नयाँ ग्रेडिङ पद्धति अनुसार नतिजा प्रकाशन गरेको जनाएको छ । ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको परीक्षा प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा एनजी अर्थात् नन ग्रेडिङ उल्लेख हुने बोर्डका प्रमुख शर्माले जानकारी दिए ।

कक्षा १२ को परीक्षामा बोर्डले पहिलो पटक ग्रेडिङ व्यवस्था लागू गरेको हो । सार्वजनिक नतिजा अनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४ हजार १ सय ७९ रहेको छ । यस्तै ३.२१ देखि ३।६० जीपीए ल्याउनेको सङ्ख्या ३० हजार १ सय ७  जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको सङ्ख्या ६५ हजार २ सय ८४ रहेको छ ।

त्यस्तै परीक्षा बोर्डका अनुसार २.४१ देखि २.८० जीपीए ल्याउनेको सङ्ख्या ६४ हजार ९३, २.०१ देखि २.४० जीपीए ल्याउनेका सङ्ख्या १० हजार नौ सय र १.६१ देखि २.० जीपीए ल्याउनेको सङ्ख्या ३५ मात्रै छ । नन ग्रेडिङ ल्याउनेको सङ्ख्या एक लाख ८८ हजार ४ सय १० रहेको छ ।

यस पटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अङ्क ल्याउनुपर्ने बोर्डले जनाएको छ । त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ । एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैनन् । दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।

यसरी हेर्न सकिन्छ नतिजा

वेबसाइटस्

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.neb.gov.np

नेपाल टेलिकमको वेबसाइट : www.neb.ntc.net.np

एसएमएस सेवा:

नेपाल टेलिकमकाे १६०० मा एमएमएस गर्ने तरिका : NEB <space> Symbol No. टाइप गरी १६०० मा एसएमएस गर्ने । 

आईभीआर सेवा:

नेपाल टेलिकमकाे १६०१ नम्बरमा डायल गरी प्राप्त नतिजाअनुसार नतिजा प्राप्त गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।