नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

विना जानकारी रेडियोले कर्मचारी हटाएकोमा पेशागत संघसंगठनको विरोध

ओखलढुङ्गान्युज । १७ भदौ, ओखलढुङ्गा । रेडियोमा कार्यरत कर्मचारीलाई विना पूर्व जानकारी हटाएको विषयमा पेशागत संघ संगठनले विरोध जनाएका छन् । मानव विकास तथा सामुदायिक सेवाद्वारा ओखलढुङ्गा जिल्लामा सञ्चालित आफ्नो एफएम १०४.८ मेघाहर्जमा कार्यरत समाचार प्रमुख रामहरि श्रेष्ठलाई पूर्व जानकारी विना नै हटाएको भन्दै पेशागत संघ संगठनले विरोध जनाएका हुन् ।

रेडियोका समाचार प्रमुख श्रेष्ठलाई रेडियोले बिना जानकारी भदौ १५ गते निष्काशन गरेको पत्र थमाएको थियो । उक्त घटनाको नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई विना सर्त तत्काल पुनर्वहाली गरी सम्मानपूर्वक रुपले काममा फर्कने वातावरण मिलाउन माग गरेका छन् । शुक्रबार जारी गरिएको संयुक्त विज्ञप्तिमा भदौ १० गतेको मितिमा लेखिएको अवकाश पत्र भदौ १५ गते साँझ दिएर निष्काशन गरिएको घटनाप्रति संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विगत ७ वर्षदेखि निरन्तर सोहि रेडियोमा कार्यरत श्रेष्ठलाई सो संस्थाले २०७९ साउन १ गतेदेखि लागु हुनेगरी १ वर्षका लागि २०८० असार सम्मको करार अवधि नवीकरण सहित नियुक्ति गरिएकोमा सफाइको मौका नदिइ अचानक हटाइ दुराषयपूर्ण रहेको पेशागत संगठनहरुको ठहर छ । नियुक्तिपत्रमा उल्लेख भएको सेवा, शर्त, सम्झौता तथा श्रमजीवी पत्रकार ऐन विपरित सुनुवाईको अवसर समेत नदिई प्रतिशोधपूर्ण ढंगले आकस्मिक रुपमा हटाइनु श्रमजीवी पत्रकार ऐन २०५१ संशोधन सहित २०७५ को दफा २० र २२ विपरित भएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती मार्फत श्रमजीवी पत्रकारहरुको हकहीत, सुरक्षा र न्यायिक उपचारका लागि नेपाल पत्रकार महासंघलाई ध्यानाकर्षण गराउँदै श्रमजीवी पत्रकारको हकहीत र पेशागत सुरक्षाका कदम चाल्न माग गरेका छन् । आफुलाई अन्याय भएको भन्दै पत्रकार श्रेष्ठले महासंघले यसबारे बोल्नु पर्ने र आफुले घटनाबारे जानकारी गराएको बताएका छन् । उनलाई हटाइएको भनेर थमाईएको पत्रमा कोभिडका कारण खर्च कटौती गर्न हटाइएको उल्लेख गरिएको छ ।