नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गाका एक युवा काठमाडौँमा मृत फेला, हत्या गरिएको आशंका

ओखलढुङ्गान्युज । १२ भदौ, काठमाडौं । गत बिहिबारदेखि हराइरहेका ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिकाका एक युवक आइतबार मृत फेला परेका छन् । चम्पादेवी गाउँपालिका वडा नम्बर ९ का प्रेम बहादुर सुनुवारका छोरा २४ बर्षिय दुर्गाधन सुनुवार काठमाडौँको गोकर्ण मन्दिर नजिकै बागमती नदिको किनारमा आइतबार विहान मृत अवस्थामा फेला परेका हुन् ।

गत बुधबार ओखलढुङ्गाबाट काठमाडौं गएका सुनुवार विहिबार साँझ ८ बजेदेखि नै हराइरहेको परिवारले जानकारी दिएको छ । सुनुवार बेपत्ता भएपछि परिवारले उनको खोजी गरिरहेको थियो । तर सुनुवारको कतै पत्ता लागेको थिएन ।

बेपत्ता भएका सुनुवारको आइतबार बिहानै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको खबर सुन्नासाथ प्रहरी घटना स्थलमा पुगेको थियो । प्रहरीले मुचुल्का उठाएर प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागी फरेन्सिक मेडिसिन विभाग महाराजगंजमा पठाइएको बौद्ध प्रहरीले जनाएको छ।

घटनास्थल र शवको प्रकृति हेर्दा सुनुवारलाई कसैले कुटपिट पछि हत्या गरेर फालिएको जस्तो देखिएको आफन्तले बताएका छन् । मृत भेटिएका सुनुवारको गालाबाट रगत बगिरहेको, शरिरमा घाउचोट र निलडाम भई रगत लत्तपतिएको देखिएको छ ।

घट्नाको अवस्था र शवको प्रकृति हेर्दा हत्या भएको र मारेर शव खोलामा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटना सम्बन्धमा महानगरीय प्रहरी बृत बौद्ध काठमाण्डौंबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।