नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

धनकुटे होटलमा खाजा खाएर विरामी परेको भन्दै प्रशासनमा उजुरी

ओखलढुङ्गान्युज । ८ भदौ, ओखलढुङ्गा । जिल्ला सदरमुकामको एक होटलमा खाएको खाजाका कारण विरामी भएको भन्दै सेवाग्राही नागरिकहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । जिल्ला सदरमुकामको मिलनचोकमा रहेको धनकुटे होटलमा खाएको खाजाका कारण आफुहरु विरामी परेको भन्दै सेवाग्राहीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका हुन् ।

उक्त होटलमा खाजा खाएपछि विरामी परेकाले कानूनी कार्बाही र क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पिडित दुर्गादेवी राजभण्डारीले उजुरी गरेकी हुन् । गत भदौ ३ गते आफू लगायतका पाँच जनाले खाजा खाएको र बेलुकी विरामी भएको निवेदनमा उल्लेख छ । उक्त होटलमा नागरिकको स्वास्थ्यमा खेलवाड गर्दै स्वास्थ्यमा प्रतिकुल असर पार्ने खानेकुराको विक्रि वितरण गरेको भन्दै होटल सञ्चालकलाई कानूनी कार्बाही गर्न तथा आफूहरुलाई क्षतिपूर्तिको व्यबस्थाको माग गर्दै उजुरी गरेका हुन् । निवेदनमा आफूहरु विरामी भएपछि पाँचैजनाले नजिकैको सप्नावती मेडिकल हलमा उपचार गरेको उल्लेख छ ।

उता होटलका सञ्चालक प्रेम भण्डारीले भने आफूले अखाद्य तथा म्याद गुज्रीएको एवम् सडेको खाद्य सामाग्र विक्रि वितरण नगरेको दावी गरेका छन् । पिडित भनीएका उजुरीकर्ता लगायत अरुलाई पनि सोहि चाउमिन र मासुका परिकार दिएको तर अन्य सेवाग्राहीहरुवाट कुनैपनि जानकारी तथा गुनासो नआएको भण्डारीको भनाई छ । उहाँहरुले अन्यत्र पनि केही खाद्य पद्धार्थ खाएको हुनसक्ने र त्यसैका कारण उहाँहरुको स्वास्थ्यमा समस्या आएको हुनसक्ने होटलका सञ्चालक भण्डारीले बताए ।

उता जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले भने उजुरी ढिलागरि प्राप्त भएकोले अनुगमन र कार्बाही प्रकृया अगाडी बढाउन समस्या भएको बताएको छ । पिडीत भनिएका उजुरीकर्ताहरुले भदौ ३ गते खाजा खाएर सोहिदिन राति समस्या भएको बताएपनि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा भने ६ गते मात्र उजुरी दिएका थिए ।

३ गते खाजा खाएर स्वास्थ्यमा समस्या भएपछि ४ गते नै उजुरी आएको भए तत्काल होटलमा पुगेर सो दिन प्रयोग गरिएको खाद्य पद्धार्थ अखाद्य थियो थिएन भनेर अनुसन्धान गर्न सकिने प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताउनुभयो । उजुरी ढिला गरि प्राप्त भएकोले होटल सञ्चालकलाई झिकाएर छलफल गरिएको तथा प्रशासनमा उजुरी प्राप्त भएको दिन सम्म पिडित भनिएका पक्षले उपचार गराईरहेकोले प्रशासनमा बोलाईएको बेला उपस्थित हुने गरि होटल सञ्चालकलाई पठाईएको प्रमुख जिल्ला अधिकारी तामाङको भनाई छ ।

जिल्ला सदरमुकाम लगायतका विभिन्न बजार क्षेत्रहरुमा म्याद गुज्रीएका तथा अखाद्य पदार्थहरुको विक्रि वितरण भैरहेको स्थानीय नागरिकहरुको गुनासो छ । जिल्ला प्रशासन कार्यालय तथा केहि स्थानीय सरकारहरुले बेलाबेलामा अनुगमन गरेपनि नियन्त्रणमा लिईएको अखाद्य वस्तुहरुलाई नष्ट नगरि एकपटकका लागि भन्दै ति सामाग्री सोहि होटल तथा पसलहरुमा छाड्ने गरेको छ ।

म्याद गुज्रीएका वा गुज्रन लागेका सामाग्रीहरुलाई व्यापारीहरुले कम मूल्यमा गाउँगाउँमा पठाईरहेका छन् । गाउँका मानिसहरु सस्तोमा पाएको भन्दै म्याद गुज्रीएका सामाग्रीहरु पनि किनेर लैजाने तथा उनीहरुले बस्तु तथा सामानमा रहेको म्यादको बारेमा हेर्न नजान्दा व्यापारीहरुले फाईदा लुटिरहेका छन् । सम्बन्धित प्रशासनले पनि अनुगमनको नाटक मात्र गर्दै सम्बन्धित व्यापारीहरुलाई कार्बाहीको प्रकृया अगाडी नबढाउदा नागरिकहरु स्वास्थ्यमा खेलवाड भैरहेको छ । तर प्रशासनले भने नागरिकहरुको यो समस्याका बारेमा खासै चासो गरेको पाईन्न ।

प्रशासनमा दिईएको निवेदन