नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

लिखुमा चार शिक्षक सहित १९ जनामा कोरोना, लिखुका सबै विद्यालय वन्द

ओखलढुङ्गान्युज भदौ, यसम लिखु गाउँपालिकाका विद्यालयका विद्यार्थीहरुमा पछिल्लो दिनमा बढेको भाईरल ज्वरो तथा रुघाखोकी सँगै कोरोना संक्रमण फैलिएको पाईएको छ । भाईरल ज्वरोको संक्रमण फैलिएको पाईएपछि कोरोना भाईरस संक्रमण फैलिएको आशंकामा एन्टिजेन परीक्षण गर्दा लिखुका १९ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टिभएको छ ।

कोरोना भाईरस संक्रमण पुष्टि हुनेमा चार जना शिक्षक सहित विद्यालयका विद्यार्थीहरु समेत रहेका छन् । शोमबार मात्रै २२ जनामा गरिएको एन्टिजेन परीक्षण मध्ये १२ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी पसष्पराज पन्तले जानकारी दिए । सूचना अधिकारी पन्तका अनुसार आइतवार गरिएको एन्टिजेन परीक्षणमा पनि लिखु गाउँपालिकामा ६ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको थियो ।

भाईरल ज्वरो र रुघाखोकी फैलिरहेको र परिक्षणका क्रममा कोरोना भाईरस संक्रमण समेत पुष्टि भएपछि लिख गाउँपालिकाले एक सूचना प्रकाशित गरि लिखु गाउँपालिका भित्रका सबै विद्यालयहरुलाई बन्द गरेको जानकारी गराएको छ । कोरोना भाईरस संक्रमित मानिसको प्रत्यक्ष सम्पर्कवाट अन्य मानिसमा पनि सर्ने भएकोले सतर्कता अपनाउनका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

मानिसहरुको आफ्नै लापरवाहिका कारण दिनानुदिन कोरोना भाईरस संक्रमणको दर फैलिरहेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न, धेरै मानिसहरुको भिडमा जादा सेनिटाईजर र मास्कको प्रयोग गर्न तथा सतर्कता अपनाउन जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले सबैमा अनुरोध गरेको छ ।