नेपाली समय Loading...२०८३ भाद्र २, मंगलवार

स्वास्थ्य सस्था नै नपुगी बाटोमा सुत्केरी ः के हेर्छन स्थानीय सरकार ?

ओखलढुङ्गान्युज । २२ साउन, ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोसी गाउँपालिकाकी एक महिलाले आईतवार बाटैमा बच्चा जन्माएकी छन् । सुनकोसी गाउँपालिका वडा नं. ९ की लालीमाया खत्री रापचाले बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नहुँदा बाटैमा बच्चा जन्माएकी हुन् ।

सुत्केरी खत्री रापचाको परिवारले केहिदिन अगाडी देखी नै स्थानीय स्वास्थ्य चौकीमा स्टाफ भए नभएको बारेमा सोधेको थिए । स्वास्थ्य चौकीका ईञ्चार्ज भानुभक्त बास्तोलाले बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नभएकोले अस्पतालमा लैजान सुझाएका थिए । तर उनीहरु भने गाउम नै बर्थिङ सेन्टर भएको र त्यही नर्सिङ स्टाफ आउने आशामा गर्भवतीलाई अस्पताल नलगी घरै राखेका थिए ।

तर आईतवार सम्म पनि वर्थिङ सेन्टरमा नर्सिङ स्टाफ आएनन् । आईतवार नै उनीलाई सुत्केरी व्यथा लाग्यो । सुत्केरी व्यथा लागेपछि सहयोगका लागि स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै उनले छोरालाई जन्म दिईन् । बाटैमा सुत्केरी गराउने काममा महिला स्वास्थ्य स्वयंसेविका मुना श्रेष्ठले सहयोग गरिन् ।

स्वास्थ्य चौकी प्रमुख बास्तोलाले बर्थिङ सेन्टरमा ३ जना पारामेडि, दुई जना नर्सिङ स्टाफको दरबन्दी भएको बताए । दुई जना नर्सिङ स्टाफको दरबन्दी भएपनि एकजना आफै सुत्केरी विदामा घर बसेको र अर्को एक जनालाई गाउँपालिकाले काजमा सरुवा गरी गाउँपालिका केन्द्र रहेको स्थान मुलखर्क स्वास्थ्य चौकीमा पठाएको बताए । बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नभएपछि सुत्केरी गराउन स्वास्थ्य चौकी च्यानम वा सामुदायीक अस्पताल ओखलढुङ्गा लैजान आफुले सिफारिस गरेकोमा स्वाथ्य चौकी लैजाने क्रममा बाटैमा बच्चा जन्माएको स्वास्थ्य चौकी प्रमुख बास्तोलाले बताए ।

बाटैमा बच्चा जन्मिएपछि सुत्केरीलाई स्टेचरमा स्वास्थ्य चौकी पुर्याईएको थियो । तर बच्चा समय नपुगी जन्मिएको र जन्मिएको बच्चाको तौल औषत भन्दा कम भएकोले आफुहरुले सक्ने व्यबस्थापन गरि सामुदायीक अस्पताल पठाईएको पनि स्वास्थ्य चौकी प्रमुख बास्तोलाले बताए । बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नहुदा गर्भवती, सुत्केरीहरुलाई समस्या भएको बास्तोलाले बताए ।

स्वास्थ्य चौकीलाई एक दातृ निकायले भिडियो एक्सरे उपलब्ध गराएको भएपनि त्यो चलाउन सक्ने दक्ष जनशक्ति नभएको तथा स्वास्थ्य चौकीमा भएको स्टाफलाई समेत पालिकाले काजमा लगेको भन्दै स्थानीयले आक्रोस ब्यक्त गरेका छन् । नागरिकको स्वास्थ्यको बारेमा नवनिर्वाचित जनप्रतिनिधीहरुले समेत बेवास्ता गरेको उनीहरुको आरोप छ । नागरिकको गुनासोका बारेमा धारणा बुझ्न वडा अध्यक्ष हितराज कार्कीलाई फोन सम्पर्क गर्दा फोन उठेन ।

‘कर्मचारीको ब्यवस्थापन नगर्दा नागरिकहरुलाई भएको असुविधा प्रति पालिका जिम्मेवार बन्नुपर्नेमा पालिका समेतले चासो नदिएको पाईएको छ । गरिबी र चेतनाको कमीले गर्दा पनि महिलाहरूलाई अझै घरमै सुत्केरी गराउने क्रम रोकिएको छैन । गाउँगाउँमा लाखौको लगानीमा वर्थिङ सेन्टरका लागि पूर्वाधार बनेपनि नर्सिङ स्टाफ विहीन बनाएर कुनै पनि स्वास्थ्य चौकी राख्दा अकालमा सुत्केरी र अन्य बिरामीको ज्यान जानसक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।