नेपाली समय Loading...२०८१ बैशाख २७ बिहीबार

हिलेपानीका वाम्बुले राईले मनाए पाचौं बासुरी दिवस

ओखलढुङ्गान्युज । १६ साउन, मानेभञ्ज्याङ्ग । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकाका वाम्बुले राईहरुले आईतवार बासुरी दिवस मनाएका छन् । विगत पाँच वर्षदेखि प्रत्येक वर्षको साउन १५ गते मनाउदै आएको बासुरी दिवस यसपाली पनि हिलेपानी भञ्ज्याङ्गमा एक कार्यक्रमको आयोजना गरि आईतवार मनाईएको हो ।

बासुरी दिवस मनाउने कार्यक्रममा करीब एक दर्जन सहभागीहरुले बाँसुरी बजाएर आफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी बक्ताहरुले वाम्बुले राई समाजको पूर्खा देखि चलिआएको परम्परा लोपोन्मुख अबस्थामा पुगेकोमा चिन्ता व्यक्त गरेका थिए । आफ्नो पूख्र्यौली संस्कार र सस्कृतिको जगेर्ना गर्नका लागि आगामी दिनमा युवा पुस्ताहरु लागि पर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागी भएका बासुरी बादकहरुले पुरानो र विभिन्न स्थानमा प्रचलनमा रहेको भाकालाई बासुरी मार्फत प्रस्तुत गरेका थिए ।

वर्षातको समय सुरु भएपछि सबै मानिसहरु खेतिपातीमा ब्यस्त हुन्छन् । वर्षातको व्यस्त समय साउन १५ सम्म करीब करीब खेतीपातीको काम पनि सकिने भएकोले कामवाट लागेको थकाइलाई बासुरीको धुन सगै रमाईलो मनोरञ्जन लिने संस्कृती वाम्बुले राईमा छ । साउन १५ सम्म सबै देवी देवताहरु गुफा पस्ने समेत भएकोले साउन १५ सम्म कुनै देवी देवताको पूजा पाठ नगर्ने, धामीझाँक्री नलगाउने तथा धामीझाँक्री लगाएपनि उपचार नलाग्ने भन्ने किंवदन्ती वाम्बुले राई समाजमा छ ।

साउन १५ पश्चात भने देवीदेवताहरु पनि गुफावाट निस्कने भएकोले प्रत्येक वर्ष साउन महिनाको १५ गते बासुरीको धुन जगाई श्रीपञ्चमीको दिनवाट फेरी समापन गर्ने प्रचलन रहेको छ । श्रीपञ्चमी पश्चात फेरी कामगर्ने सिजन लाग्ने भएकोले त्यती फुर्सद नहुने हुदा त्यसैदिन देखी साउन १४ गते सम्म वाम्बुले राईहरुले बासुरी बजाउन हुदैन भन्ने प्रचलन रहि आएको छ ।

त्यही संस्कार र संस्कृतीलाई निरन्तरता दिन हिलेपानीका वाम्बुले राई जातीहरुले विगत तिन वर्षदेखी वाम्बुले बासुरी दिवस मनाउदै आएका छन् । स्थानीय झण्डै एकदर्जन युवा तथा जेष्ठ नागरिकहरुले बासुरीको धुन प्रस्तुत गरेका थिए । युवा पुस्ताहरुले बेवास्ता गर्दै गएको यस परम्परालाई निरुन्तरता दिनका लागि बाँसुरी दिवसको आयोजना गरिएको स्थानीय समाजसेवी युवा गगन कुमार राईले बताए ।