नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गा बन्यो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला

ओखलढुङ्गान्युज । ३१ असार, ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लालाई विहिबार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । विहिबार जिल्लामा आयोजित एक औपचारिक कार्यक्रमका विच  जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख तथा जिल्ला खोप समन्वय समिति अध्यक्ष डिल्लीराम खनालले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरेका हुन् ।

नेपाल सरकारले जारि गरेको निर्देशीका बमोजिम ओखलढुङ्गाका ८ स्थानीय तहका ७५ वटै वडाहरुलाई यस अगाडी नै स्थानीय सरकारहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेका छन् । जिल्लाका सबै वडाहरुलाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा पश्चात विहिबार जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा  दिगोपना जिल्ला घोषणा गरिएको हो । यस अगाडी २०७३ साल असार २४ गते ओखलढुङ्गा जिल्लालाई १८ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा १६ देखी २३ महिनासम्मका कुल १ हजार ५ सय २१ जना बालबालिका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार उनीहरु सबैले १५ महिनाकै अवधीमा पूर्ण खोप पाइसकेका छन् । बालबालिकाले आफुलाई १३ प्रकारका रोगवाट बचाउने खोप निरन्तर रुपमा समयमा नै पाएको सुनिश्चित भएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिए ।

कार्यक्रममा जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गराउनका लागि विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्ति, संघ, संस्था, पत्रकार तथा कार्यालयहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । पूर्ण खोप सुनिश्चितता र दीगोपना भएको जिल्ला घोषणा भएपनि त्यसको दीगोपनाका लागि प्रत्येक वर्ष सर्वेक्षण र घोषणा गर्ने प्रावधान छ ।