नेपाली समय Loading...२०८१ बैशाख २६ बुधबार

अभिलासाले गरिन जन्मदिनमा बृक्षारोपण

ओखलढुङ्गान्युज २३ असार, च्यानम विभिन्न उत्सवहरु झै जन्मोत्सवमा पनि मानिसहरुले लाखौ खर्च गर्ने गरेको सुनेकै हो । साना नानीहरुको रहर पूरा गर्दै गर्दा अहिले समाजमा ठूला उमेरका मानिसको समेत जन्मोत्सवको अबसरमा केक काट्दै भोज भतेरमा लाखौं खर्च गर्ने प्रचलन बढ्दो छ ।

समाजमा प्रचलन बढ्दै जादा आजभोली हाम्रा साना नानीहरुले पनि अरुको देखासिकीमा परिवारको गच्छे भन्दा ठूलो रहर गर्नु स्वभाविक पनि हो । साथिको भन्दा ठूलो केक काट्ने, राम्रो लुगा लगाउने, धेरै साथिहरुलाई भोजमा बोलाउने उनीहरुको रहर स्वभाविक रुपमा वढी हुन्छ । तर उनीहरुलाई थाहा हुदैन कि आफ्ना आमा–बाबुको समस्या । खर्च गर्ने क्षमता । देखा सिकी गर्दै जादा हाम्रो समाजमा यस्ता अनावश्यक खर्चले विकृती पनि मौलाउदै गएको छ ।

समाजमा कतिपय यस्ता बाबु आमा पनि छन् कि आफ्नो बच्चाहरुको जन्मदिन अरुको भन्दा भिन्दै तवरले मनाईदिउ । जुन अरुको भन्दा भिन्न होस । समाजले पनि केहि सिक्न योग्य होस् । आफ्नो अबस्था र समस्या बच्चाहरुले क्रमशः बुझुन् । आफूलाई समस्या पनि नहोस् । साथिको झै जन्मदिन मनाईदिएनन् भनेर खल्लो महशुस पनि नगरोस् । यसै सिलसिलामा लिखुकी अभिलासा बोगटीले आफ्नो जन्मदिन भिन्नै तरिकाले मनाएकी छिन् ।

आज अभिलासा बोगटी ५ वर्ष पुरा भएर ६ वर्षमा टेकिन् । अभिलासाको घर लिखु गाउँपालिका वडा नं. १ पसलटार हो । उनी अहिले सुनकोसी गाउँपालिकाको च्यानममा आमा बुबासँगै वस्छिन् । बुबा च्यानमको सामुदायीक विद्यालयका शिक्षक हुन् । जन्मदिनको अबसरमा अभिलासाले स्थानीय चञ्चलादेवी मन्दिर आसपासमा दश बोट सुन्तला र कागतीको विरुवा रोपेर मनाएकी छिन् ।

अभिलासा च्यानममा नै कक्षा १ मा पढ्छिन् । साथिहरुले केक काटेर भोज खाएर जन्मदिन मनाउदै गर्दा अभिलासाले फलफुलका विरुवा रोपिन् । मन्दिर आसपासको फोहोर सरसफाईमा सरिक भईन् । जसका लागि उनका बुबा भोजराज बोगटीले साथ दिए । विरुवा रोपेर उनी स्कूल गईन । अनि साथिहरुलाई चक्लेट पनि बाडिदिईन् ।

बच्चाहरुको रहर अनेकन भएपनि सकारात्मक कुराहरुको सिकाई गराउने उद्धेश्यले छोरीको जन्मदिनमा फलफुलको विरुवा रोप्न लगाएको उनका बुबा भोजराजले बताए । भोज भतेर गरेर मात्र मनाउदा खर्च गरेपछि सकिने भएकोले विरुवा रोपे पछिसम्म सम्झना पनि हुने र वातावरणलाई समेत राम्रो हुने भएकोले विरुवा रोप्न लगाएको उनको भनाइ छ ।