नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गामा बुधबार देखी हराईरहेका पुरुष मृत भेटिए

ओखलढुङ्गान्युज २३ असार, ओखलढुङ्गा ओखलढुङ्गाको मोलुङ गाँउपालिकामा एक पुरुष मृत फेला परेका छन् । बुधबार साँझ देखी हराईरहेका मोलुङ गाउँपालिका वडा नं. ८ सिरवानीका ५१ वर्षका युवराज राई मृत फेला परेका हुन् ।

बुधबार साँझ देखी हराईरहेका राई विहिबार विहान आफ्नै गाईगोठ नजिकै रहेको भिरवाट करीब ५० मिटर तल मृत अबस्थामा भेटिएका हुन् । बुधबार साँझ घरवाट निस्किएका राई राती अबेरसम्म पनि घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । परिवारका सदस्यहरु र स्थानीय छिमेकीको सहयोगमा राईको खोजी गर्दा विहिबार विहान उनी मृत भेटिएका थिए ।

तर प्रहरीले भने राईको विहिबार विहान गाईबस्तुलाई घाँस दिन जादा लडेर मृत्यु भएको जनाएको छ । विहिबार विहान घाँस दिन गोठ जाँदा विहान ७ बजेतिर राईको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक केशब अधिकारीले जानकारी दिए ।

राईको शबलाई रुम्जाटार अस्पतालमा पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।