नेपाली समय Loading...२०८१ बैशाख २८ शुक्रबार

रेडक्रसद्वारा किशोरीहरुलाई महिनावारी स्वच्छता व्यबस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम

ओखलढुङ्गान्युज १२ असार, ओखलढुङ्गा नेपाल रेडक्रस सोसाईटी ओखलढुङ्गाले सामुदायीक विद्यालयका किशोरीहरुलाई महिनावारी स्वच्छता व्यबस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । रेडक्रसले परियोजना लागू भएका मोलुङ गाउँपालिका तथा सिद्धिचरण नगरपालिकाका सामुदायीक विद्यालयका किशोरीहरुलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी ओखलढुङ्गाले अन्तराष्ट्रिय महासंघ आईएफआरसीको सहयोगमा जिल्लामा दिगो तथा समावेसि खानेपानी तथा स्वच्छता प्रवर्धन (Inclusive Water and sanitation (I-WASH) Project) परियोजना सञ्चालन गरिरहेको छ । यस परियोजना जिल्लाको सिद्धिचरण नगरपालिकाको वडा नं. ५ तथा मोलुङ गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा सञ्चालनमा रहेको छ ।

कार्यक्रम अन्तर्गत रेडक्रसले असार १० गते शिवदुति माध्यामीक विद्यालय प्राप्चा र असार १२ गते जिवन प्रदिप माध्यामीक विद्यालयमा हर्कपुरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । अभिमुखीकरण कार्यक्रममा विद्यालयका कक्षा ७, ८, ९ र १० का छात्राहरु तथा सोहि विद्यालयका शिक्षिकाहरुको समेत सहभागीता रहेको परियोजनाका अधिकृत खिलराज गुरागाईले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा परियोजना अधिकृत गुरागाईसँगै स्वास्थ्य चौकीका कर्मचारीहरु लक्ष्मी कार्की तथा शोभिता दाहालले सहजीकरण गरेका थिए । अभिमुखीकरण कार्यक्रममा १ सय ९जना किशोरी तथा शिक्षिकाको उपस्थिती रहेको थियो ।