नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

लागू औषध दुरुपयोग रोक्न सबैको भूमिका महत्पूर्ण ः मन्त्री कार्की

ओखलढुङ्गान्युज १२ असार, विराटनगर प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले लागु औषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । आईतबार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा विराटनगरमा आयोजित प्रभात फेरी कार्यक्रममा मन्त्री कार्कीले सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले लागु पदार्थको अवैध कारोबार तथा धन्दालाई निरुत्साहित पार्न प्रदेश सरकार लागिरहेको बताउनुभयो । प्रदेश सरकार लागु पदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लागि परिरहेको छ भन्दै सबै सँगको समन्वयमा यो सम्भव भएको पनि मन्त्री कार्कीले बताउनुभयो ।

आन्तरिक मामिला मन्त्रालयले पुनः स्थापना केन्द्रहरू, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयहरू सँग समन्वय गरिरहेको रहेको समेत बताउनुभयो । खास गरी किशोर किशोरी समूहमा विद्यार्थी लागु औषधको अवैध प्रयोगकर्ता बढी रहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसलाई रोक्नका लागि पनि विद्यार्थीले नै भूमिका खेल्नुपर्ने मन्त्री कार्कीको भनाई छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइराला, कोसी अस्पतालका प्रमुख डा.यज्ञराज खरेल, सुरक्षा निकायका प्रतिनिधि, पुनः स्थापना केन्द्रका प्रतिनिधि, विभिन्न क्याम्पसका विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।