नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

सिद्धिचरण नगरपालिकाले ल्यायो ८१ करोड बढीको बजेट

ओखलढुङ्गान्युज । १० असार, ओखलढुङ्गा । आज देशका ७५३ स्थानीय सरकारहरु मध्ये अधिकांस स्थानीय सरकारहरुले नयाँ आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेटको सार्वजनिक गरेका छन् । यसैक्रममा ओखलढुङ्गामा पनि सिद्धिचरण नगरपालिकाले नयाँ आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रमसँगै ८१ करोड बढिको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार उद्घाटन गरिएको नगरसभामा सार्वजनिक गरिएको नगरपालिकाको नीति तथा कार्यक्रममा यसपटक पूरानै कुराहरुलाई निरन्तरता दिईएको छ । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा यस पटक नगरपालिकाले लैङ्गिक समानतालाई प्राथमिकतामा राखिएपनि सामाजिक समावेशीकरणका कुरालाई भने हटाईएको छ । नगरले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक विकास, कृषि, सुशासन र समानतालाई प्राथमिकतामा राखेको छ ।

बजेट भाषण मार्फत आगामी आर्थिक वर्षका लागि नगरपालिकाले कुल ८१ करोड ६ लाख २३ हजार ८ सय ६० रुपैयाको बजेट प्रस्ताव गरेको छ । प्रस्तावित सार्वजनिक बजेट अनुसार सबैभन्दा धेरै सामाजिक विकासको क्षेत्रमा ५५।९२ प्रतिशत अर्थात ४५ करोड ३३ लाख ७६ हजार १ सय २० रुपैया विनियोजन गरेको छ । त्यस्तै सुशासन तथा संस्थागत विकास तर्फ १६।५४ प्रतिशत अर्थात १३ करोड ४० लाख ८१ हजार ८ सय ६०, आर्थिक विकासमा १०।९२ अर्थात ११ करोड २८ लाख, पुर्वाधार विकास तर्फ १३।१६ प्रतिशत अर्थात १० करोड ६६ लाख १८ हजार ८ सय ८० र वन, वातावारण तथा विपद् व्यवस्थापनमा ०।४६ प्रतिशत अर्थात ३७ लाख ५० हजार विनियोजन गरेको छ ।

प्रस्तावित बजेट सार्वजनिक गरेसँगै बजेट माथिको छलफलको लागि शनिबार विहान ११ बजे सम्मका लागि नगरसभाको बैठक स्थकित गरिएको छ ।