नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

विद्यालयको हिसाब खोज्ने शिक्षिका माथि कुटपिट

ओखलढुङ्गान्युज असार, खोटाङ खोटाङमा विद्यालयको हिसाव खोज्ने शिक्षिका माथि आफ्ने विद्यालयकी प्रधानाध्यापीकाले कुटपिट गरेकी छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविका प्रअ लक्ष्मी पौडेलले आफ्नै स्टाफ शिक्षिका गोमा कार्कीमाथि हातपात गरेकी हुन् ।

विद्यालयमा भएको आर्थिक पारदर्शीताको विषयमा विवाद हुँदा प्रअ पौडेलले शिक्षिका कार्कीमाथि शुक्रबार विव्यासको बैठकमा हातपात गरेकी हुन् । पानीपेटमा लात्ताले हान्दा स्वास्थ्यमा गम्भीर समस्या निम्तिएको शिक्षिका कार्कीले बताइन् ।

विद्यालयमा पाठ्यपुस्तकको १० हजार ८८५, सिपको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मतको ९ हजार, छात्रबृत्तिको ४ हजार ८००, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवाखाजाको ३४ हजार ५९६ लगायत १ लाख ३२ हजार ९३१ को आयव्यायका बारेमा जिज्ञासा राख्दा आफुमाथि कुटपिट भएको शिक्षिका कार्कीको भनाइ छ ।

निरन्तर पेट दुख्ने र पिसाव नरोकिने समस्या देखिएपछि कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार नोवेल अस्पताल बिराटनगर रेफर गरेको जनाएको छ । पेटमा लात्ताले लागेपछि गम्भीर बनेकी कार्कीलाई आफन्तले शुक्रबार राती जिल्ला अस्पताल पुर्याएका थिए । बैठकमा कुटिएकी शिक्षिकाको घाजाँचका लागि आफन्तले शनिबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

कार्की पनि सोही विद्यालयकी पुर्वप्रअ हुन् । घटना पश्चात निवेदन परेपछि विद्यालयकी प्रधानाध्यापकलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा राखिएको छ ।