नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

बालिका बलात्कार अभियोगमा प्रधानाध्यापकसहित ओखलढुङ्गामा ४ पक्राउ

ओखलढुङ्गान्युज । ३१ जेठ, ओखलढुङ्गा । बालिका बलात्कार अभियोगमा ओखलढुङ्गामा एक प्रधानाध्यापकसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ३, नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय प्रकाश भनिने पूर्णप्रसाद फुँयाल, स्थानीय ७६ वर्षीय फणिन्द्रप्रसाद दाहाल, ३२ वर्षीका डम्बर भुजेल र ३१ वर्षका केवल भुजेल रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक र भुजेल दुई युवालाई प्रहरीले शोमबार नै पक्राउ गरेको हो भने ७६ बर्षका बृद्धलाई भने मंगलबार पक्राउ गरि अनुसन्धानका लागि जिल्ला अदालत लगेर म्याद थप गरेको छ । पक्राउ परेका चारैजनामाथि फरक फरक समय र स्थानमा पटक–पटक बलात्कार गरेको आरोप लागेको छ ।

बलात्कृत भएको भनिएकी १२ वर्षिया बालिका स्थानीय नारायणस्थान माविमा कक्षा ८ मा पढ्दैछिन् । उनी र उनका दाजुसँगै रहेर सो विद्यालयमा अध्ययन गर्दै आएका थिए । पटकपटक बलात्कारको सिकार भएकी बालिकाले पछिल्लो पटक भने सहन गर्नै नसकेर आफ्ना अविभावकलाई भनेपछि घटना बाहिर आएको हो ।

पक्राउ परेका चारैजना विरुद्ध शोमबार नै किटानी जाहेरी दर्ता भएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । पक्राउ पश्चात घटनाका बारेमा अनुसन्धान अघि बढाईएको र आरोपी अभियुक्तहरुलाई म्याद थप प्रक्रियामा लगिएको प्रहरी निरीक्षक दासले जानकारी दिए ।