नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

मानेभञ्ज्याङ्गको किशोरी हत्या प्रयास आरोपी राई प्रहरीद्वारा पक्राउ पछि सार्वजनिक

ओखलढुङ्गान्युज जेठ, ओखलढुङ्गा मानेभञ्ज्याङ्गकी एक किशोरीलाई हत्या गर्ने प्रयास गरेको आरोपमा पक्राउ परेका एक युवालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ९ माधवपुरका २७ वर्षिय रिदम भनिने टंकाराज राईलाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै पक्राउ परेका आरोपी राईलाई सार्वजनिक गरेको हो । आईतबार सिन्धुली जिल्लाको नेपालथोक स्थित एक कोठावाट उनलाई पक्राउ गरि आईतबार बेलुकी नै ओखलढुङ्गा ल्याईएको छ । शोमबार थप अनुसन्धानका लागि जिल्ला अदालतवाट म्याद थप गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

घटना विवरण

आईतवार विहानै मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ५ धिमिलेकी १९ वर्षिय किशोरी गम्भिर घाईते र बेहोस अबस्थामा फेला परेकी थिईन् । ति किशोरी मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ५ मा रहेको बलबहादुर राई ग्रामिण सडकको छेउमा फेला परेकी थिईन् । गम्भिर घाईते तथा बेहोस अबस्थामा भेटिएपछि स्थानीयले उद्धार गरि उपचारका लागि सामुदायीक अस्पताल ओखलढुङ्गा ल्याईएको थियो ।

घाईते किशोरीलाई उपचारका लागि पठाउदै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल सम्भावित अपराधीको खोजी सुरुवात गरेको थियो । सामुदायीक अस्पतालमा ल्याईएकी किशोरीको शरिरको विभिन्न भागमा गहिरो चोट लाग्नुका साथै टाउकामा पनि गम्भिर चोट लागेकोले सामुदायीक अस्पतालले काठमाण्डौं रिफर गरिदियो । जिल्ला प्रहरी प्रमुख खनालको समन्वयमा हेलिकप्टर झिकाएर विरामीको उपचारका लागि काठमाण्डौं पठाईएको छ ।

घाईते किशोरी गम्भिर घाईते अबस्थामा पनि आफूलाई मार्ने प्रयास गर्ने पुरुषको बारेमा सामान्य जानकारी दिएकी थिईन् । सोहि प्रारम्भिक जानकारीका आधारमा प्रहरीले खोजी कार्यलाई तिब्रता दिएको थियो । किशोरीले दिएको प्रारम्भिक सूचनाका आधारमा अपराधीको खोजी गरेपनि प्रहरी सफल भएको थिएन । तर अन्य सूचनाका आधारमा अपराधीलाई पछ्याउदै जिल्ला प्रहरी कार्यालय सिन्धुली र प्रहरी अपराध अनुसन्धान कार्यालयको सहयोगमा नेपालथोकवाट राईलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

किशोरीले दिएको सूचनाका आधारमा र पक्राउ परेका पुरुषको बयानका आधारमा किशोरीको हत्याको प्रयास राईले नै गरेको देखिएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए । यद्यपी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । किशोरीको शारीरिक अबस्था हेर्दा बलात्कार गरेको जस्तो देखिए पनि डाक्टरको रिपोर्ट नआएकोले यसै भन्न नसकिएको पनि प्रहरी नायव उपरीक्षक खनालले बताए । पक्राउ परेका राईले किशोरीलाई किन मार्न खोने भन्ने विषयमा अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईको विरुद्धमा ज्यान मार्ने उद्योग र जबरजस्ती करणी सम्बन्धी किटानी जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई दुवै मुद्धा चलाउने या एउटा मात्र मुद्धा चलाउने भन्ने बारेमा थप अनुसन्धान पछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।