नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

खोटाङले पायो २ पालिका प्रमुखमा महिला नेतृत्व

ओखलढुङ्गान्युज जेठ, खोटाङ स्थानीय तहको निर्वाचन २०७९ मार्फत खोटाङ जिल्लाले दुईजना महिला नेतृत्व पाएको छ । जिल्लाको स्थानीय तहहरुमध्ये चार पालिकामा प्रमुख दलहरुले महिलालाई प्रमुख पदमा उठाएको भएपनि दुईओटा पालिकाले मात्र प्रमुखमा महिला नेतृत्व पाएको हो ।

जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा अरुणादेबी राई विजयी भएका हुन् । विमलाले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई तोडेर मेयरमा बाजी मारेकी हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसवाट उपमेयरमा बिजयी बनेकी बिमलाले यसपल्ट मेयरमा फड्को मारेकी हुन् ।

माओबादी केन्द्रले २०७४ सालको निर्वाचनमा पनि गाउँपालिकाको अध्यक्ष पदमा उमेद्वार बनाएको अरुणादेबी स्थानीय निर्वाचन २०७९ मा भने अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । अघिल्लो निर्वाचनमा पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको माओवादी केन्द्रले यसपल्ट भने जन्तेढुंगामा मात्र महिलालाई प्रमुखको उम्मेदवार बनाएको थियो । अरुणादेवी यसपटकको स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उमेद्वार पनि हुन् । दुईओटा स्थानीय तहमा महिला नेतृत्व निर्वाचित भएपछि यसपटक महिला नेतृत्वको कार्यसम्पादनलाई सबैले चासोका साथ हेरेका छन् ।

खोटेहाङ गाउँपालिकाको अध्यक्षमा एमालेकातर्फबाट उठाइएका कविता राई र बराहपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेबाटै उठेकी गोमा मगर भने पराजित भएकी छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा विजयी भएका कविता र गोमालाई यसपल्ट एमालेले अध्यक्षको उम्मेदवार बनाएको थियो ।