नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

खिजिदेम्बामा भत्कियो कांग्रेसको गढ, उदायो जसपा

ओखलढुङ्गान्युज । ५ जेठ, ओखलढुङ्गा । स्थानिय तहको निर्वाचन २०७९ मा ओखलढुङ्गाको कांग्रेसको गढ मानिएको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जसपाले जित हासिल गरेको छ । खिजिदेम्बा गाउँपालिका नेपाली कांग्रेसको ओखलढुङ्गाको २ पटक सम्म जिल्ला सभापति बनेका केन्द्रिय सदस्य प्रदिप कुमार सुनुवारको पालिका हो ।

खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार गम्बु शेर्पा निर्वाचित भएका हुन् । खिजिदेम्बा गाउँपालिकामा कांग्रेसको गढ भत्काउदै शेर्पाले २ हजार ८८२ मत प्राप्त गरे । शेर्पाका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उमेद्वार भुपेन्द्र बस्नतेले २ हजार ७५२ मत पाए । कांग्रेसका उमेद्वारलाई मात्र १३० मतको फरकमा हराउदै शेर्पा विजयी भएका हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली काँग्रेसकी सुशिला तामाङ विजयी भइन् । तामाङ यस अगाडी पनि खिजिदेम्बा गाउँपालिकावाट नै उपाध्यक्ष पदमा निर्वाचित भएकी थिईन् । उपाध्यक्ष पदमा निर्वाचित तामाङले २ हजार ८२४ मत प्राप्त गरिन् । तामाङका निकटतम प्रतिद्वन्दी जसपाकी मान कुमारी तामाङले २ हजार २४१ प्राप्त गरिन् ।

कुन् वडा को निर्वाचित ?

खिजिदेम्बा गाउँपाकिलाका वडा नं. १ मा जसपाका कुमार सुनुवार निर्वाचित भए । उनले ३०४ मत पाएका थिए ।

वडा नं. २ मा कांग्रेसका सुरेन्द्र शंकर घिमिरे निर्वाचित भए । उनले २९१ मत पाएका छन् ।

वडा नं. ३ मा कांग्रेसका टंकरा सुनुवार विजयी भए । उनले ४१३ मत पाएका छन् ।

वडा नं. ४ मा कांग्रेस कै होम बहादुर सुनुवार विजयी भए । उनले ४६७ मत पाए ।

वडा नं. ५ मा राम कुमार सुनुवार विजयी भए । उनी कांग्रेसबाट नै विजयी भएका हुन् । उनले ३३२ मत पाए ।

वडा नं. ६ मा जसपाका पासाङ ङिमा शेर्पा विजयी भए । उनले त्यहाँ ५९८ मत पाए ।

वडा नं. ७ मा कांग्रेसका डिल्लीराम बस्नेत निर्वाचित भए । उनले ३०८ मत पाए ।

वडा नं. ८ मा कांग्रेसका नगेन्द्र बस्नेत विजयी भए । उनले ३१८ मत पाए ।

वडा नं. ९ मा ङवाङ फुरी शेर्पा निर्वाचित भए । उनले ३१६ मत पाएर विजयी भएका हुन् ।

खिजिदेम्बा गाउँपालिकामा रहेको ९ ओटा वडाहरु मध्ये ७ वडाम नेपाली कांग्रेसले विजयी हासिल गरेपनि गाउँपालिकाको अध्यक्ष पद भने गुमाएको हो ।