नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

स्थानिय तह निर्वाचन अपडेट ः लिखु रोचक मोडमा

ओखलढुङ्गान्युज । ३ जेठ, यसम । स्थानिय तहको निर्वाचन २०७९ अन्तर्गत लिखु गाउँपालिकाको मतपरिणामले गाउँपालिका अध्यक्ष पदमा रोचक मोड लिएको छ । ७ ओटा वडाको अन्तिम मतपरिणाम आउदै गर्दा सम्म गाउँपालिकाको अध्यक्ष पदमा अगाडी देखिएको एमालेलाई पछ्याईरहेको कांग्रेसले आठौं वडाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा २१ म्तले उछिनेको छ ।

लिखु गाउँपालिकाको वडा नं. ८ खाल्डेको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका अशोक कुमार कार्कीले ३२७२ मत पाएका छन् भने एमालेका अध्यक्ष पदका उमेद्वार मिलन कुमार विष्टले ३२५१ मत पाएका छन् । वडा नं. ८ को मतपरिणाममा कांग्रेसका कार्कीले उछिनेसँगै गाउँपालिकाको मतपरिणामले रोचक मोड लिएको हो ।

लिखु गाउँपालिकाको ९ ओटा वडाहरु मध्ये ८ ओटा वडाको मतगणना सकिदा अगाडी बढेका कार्कीलाई मतगणना गर्न बाँकी रहेको वडा नं. ५ मा थप मत आउने अपेक्षा गरिएको छ । वडा नं. ५ साविकको यसम गाविसको कांग्रेसका उमेद्वार कार्कीको गाउँ हो । तथापी कसले बाजी मार्लान भन्ने बारेमा भने अन्तिम सम्मको मतपरिणाम कुर्नुपर्ने भएको छ ।

गाउँपाकिलाको अध्यक्ष पदमा ८ ओटा वडाको मतगणना सकिदासम्म लिखु गाउँपालिकामा माओवादी केन्द्रका एकिन्द्रराज कटवालले ८०४, एकिकृत समाजवादीका नेत्र प्रसाद भट्टराईले १५७, राप्रपाका जुद्धविर पौडेलले १० तथा मंगोल नेशनलले २६ मत पाएका छन् ।

गाउँपालिकाको उपाध्यक्ष पदमा भने नेकपा एमालेका अस्मिता थापा लगभग विजयको नजिक रहेका छन् । एउटा वडाको मतगणना गर्न बाँकी रहदा एमालेका थापाको मत ३७६१ छ भने उनलाई पछ्याईरहेकी कांग्रेसकी उमेद्वार प्रेम कुमारी दाहालको २६८९ मत रहेको छ । त्यस्तै उपाध्यक्ष पदमा मंगोल नेशनलका अस्मिता परियारले २६, माओवादी केन्द्रकी विमला भट्टराईले ७९७, एकिकृत समाजवादीकी पूर्ण कुमारी बुढाथोकी खत्रीले १२० र स्वतन्त्र उमेद्वार धारा चिन्हका बोज बहादुर खत्रीले ३० मत पाएका छन् ।