नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

कांग्रेस सचिवले मतपत्र च्यातेपछि चिशंखुगढी ३ को मतगणना रोकियो

ओखलढुङ्गान्युज । २ जेठ, सेर्ना । वडा अध्यक्ष पदको मतगणना गर्दा कांग्रेसका जिल्ला सचिवले मतपत्र च्यातेपछि चिशंखुगढीमा मतगणना रोकिएको छ । वडाको मतगणना गर्दा नेपाली काँग्रेस र माओवादीबाट वडाध्यक्ष उम्मेद्वारको मत बराबर भएपछि त्यहाँ पुनः गणना गरिएको थियो । 

दोहोर्याएर मतगणना गर्ने क्रममा करिब ३ सय मत गनिसकेपछि काँग्रेसका प्रतिनिधिले केहि थान मतपत्र तानेर च्यातेका हुन् । मतपत्र च्यातिसकेपछि हाल मतगणना स्थगित भएको छ । 

मतपत्र च्यातेपछि कांग्रेसका जिल्ला सचिव समेत रहेका राजकुमार ढुंगाना सहित तीनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिनुभयो । उनीहरुलाई कारबाही गर्ने नगर्ने बारेमा निर्वाचन अधिकृतको कार्यालयको आदेश बमोजिम हुने प्रहरीले जनाएको छ ।

ती सबै दृश्य सिसि क्यामेरामा कैद भएको र त्यसपछि अन्य मतपत्रहरु जस्ताको तस्तै राखेर स्थगित गरिएको निर्वाचन अधिकृत कमला काफ्लेले बताउनुभयो । काफ्लेका अनुसार अब सर्वदलीय बैठक राखेर कसरी बाकी मतगणना गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

चिशंखुगढीको उक्त वडामा जम्मा १ हजार ७६ मत खसेको थियो ।