नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

चिशंखुगढी गाउँपालिकामा दोहोरिए माओवादीका निशान्त शर्मा

ओखलढुङ्गान्युज । २ जेठ, ओखलढुङ्गा । स्थानिय तहको निर्वाचन २०७९ अन्तर्गत चिशंखुगढी गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार चिशंखुगढी गाउँपालिकामा गठबन्धनको तर्फवाट उमेद्वार बनेका नेकपा माओवादी केन्द्रका उमेद्वार निशान्त शर्मा विजयी भएका छन् ।

गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका शर्माले आफ्नो मुख्य प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार अशोक थापालाई ५०७ मतको अन्तरमा पराजित गरेका हुन् । निर्वाचित भएका शर्माले ३१९८ मत पाएका थिए । त्यस्तै एमालेका थापाले २६९१ मत पाएका थिए । त्यसैगरि अध्यक्ष पदमा जसपाका पासाङ किपा शेर्पाले १०३ मत, एकिकृत समाजवादीका शारदा निरौलाले ६० मत र राप्रपाका खेम खतिवडाले १३ मत पाएका छन् ।

त्यसैगरि गाउँपालिकाको उपाध्यक्ष पदमा पनि कांग्रेस–माओवादी केन्द्रको तर्फवाट गठबन्धनको उमेद्वार बनेका नेपाली कांग्रेसका सन्तोषबाबु थापा निर्वाचित भएका छन् । थापाले ३११६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुष्मिका राईले २०५० मत प्राप्त गरेकी छन् । त्यहाँ उपाध्यक्ष पदका उमेद्वार एकिकृत समाजवादीका कृष्ण बहादुर भुजेलले १४८, जसपाका शारदा भट्राईले ७१ मत ल्याएका छन् ।

चिशंखुगढीमा रहेको ८ ओटा वडाहरु मध्ये माओवादी केन्द्रले चार वडाहरुमा जित दर्ता गरेको छ । माओवादी केन्द्रले जित हासिल गरेको वडाहरुमा वडा नं. १ उषक कटुवाल, वडा नं. २ मा नरेन्द्र बस्नेत, वडा नं. ५ मा नेत्र भट्टराई र वडा नं. ४ हिमाल राई रहेका छन् ।

त्यसैगरि पालिकाका वडा नं. ६ मा कांग्रेसका बलराम कटवाल र वडा नं. ७ मा काँग्रेस कै मुघाधन राई विजयी भएका छन् । गाउँपालिकाको वडा नं. ८ मा भने नेकपा एमालेका उम्मेदवार शुसिलजङ कार्की वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

चिशंखुगढी गाउँपालिकाको वडा नं. ३ मा भने वडा अध्यक्षका उम्मेदवारहरुको मत बराबरी भएपछी पुनःमत गणना गरिने भएको छ ।