नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

ओखलढुङ्गा आउदै गरेको बस दुर्घटना, ३ घाईते

ओखलढुङ्गान्युज जेठ, ओखलढुङ्गा काठमाण्डौं वाट ओखलढुङ्गाको प्राप्चा आउदै गरेको बस दुर्घटनामा परेको छ । ओखलढुङ्गा तर्फ आउदै गरेको बा ४ ख ५७९५ नम्बरको बस दुर्घटना हुदा बसमा सवार ३ जना गम्भिर घाईते भएका छन् ।

ओखलढुङ्गा तर्फ आउदै गरेको उक्त बस सिद्धिचरण राजमार्ग अन्तर्गत मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ६ को भडारे खोला नजिकै दुर्घटनामा परेको हो । बस सडक वाट करीब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

बस बैशाख ३० गते काठमाण्डौंवाट प्राप्चा ल्याएका मतदातालाई लिन मोलुङ आउदै थियो । बस गएराती ११ ः ४५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक केशब अधिकारीले जानकारी दिए । सूचना अधिकारी अधिकारीका अनुसार दुर्घटनामा परि घाईते हुनेहरु तिनैजना बसका कर्मचारी हुन् ।

घाईते हुनेहरुमा बसका चालक ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं. ७ का ३४ वर्षका दिपक श्रेष्ठ, सोहि स्थानका बसका कन्ट्रयाक्टर २२ बर्षका रामन श्रेष्ठ र रामेछाप घर भएका बसका सहचालक बर्ष १९ का रवि केसी रहेका छन् ।

घाईतहरुको उद्धार गरि उनीहरुलाई उपचारका लागि राती नै उदयपुरको घुर्मीमा रहेको आस्था मेडिकल हलमा पुर्याईएको थियो । यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एम्बुलेन्स मार्फत विहानै धुलिखेल अस्पतालमा पुर्याईएको र हाल उनीहरुको उपचार भैरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।