नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

चम्पादेवीको मिश्रभञ्ज्याङ्गमा झडप, ९ राउण्ड हवाई फायर

ओखलढुङ्गान्युज ३० बैशाख, चम्पादेवी मतदान गर्ने क्रममा चम्पादेवी गाउँपालिकाको वडा नं. ९, विलन्दुमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ ।

चम्पादेवी गाउँपालिकाको वडा नं. ९ विलन्दु, मिश्रभञ्ज्याङ्गमा जीवनज्योती आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएको जिल्ला प्रहरी कार्यालय ओखलढङ्गाका प्रमुख प्रहरी नायव उपरिक्षक सुकदेव खनालले पुष्टि गरे । झडपका क्रममा मतदान स्थलमा राजनीतिक दलका नेता तथा कार्यकर्ता पसेर तोडफोड गर्न थालेपछि मतदान सामाग्रीको सुरक्षाका लागि प्रहरीले ९ राउण्ड हवाई फायर गरेको प्ररी नायव उपरीक्षक खनालले जानकारी दिए ।

स्थानीय बृद्ध नर बहादुर श्रेष्ठले दिने मत आफैले नसकेपछि कसले मत हालिदिने भन्ने विषयमा विवाद सुरुवात भएको स्थानीय बलराम फुयालले जानकारी दिए । बृद्ध श्रेष्ठको भोट हाल्न उनका छोरा गएका थिए । तर छोराको मतदाता परिचयपत्र नभएपछि नातिले बृद्ध श्रेष्ठको भोट हाल्न उनका नाती गएका थिए ।

बृद्ध श्रेष्ठको छोराले कांग्रेसको समर्थन गर्ने र नातिले भने एमालेको समर्थन गर्ने हुँदा मतदान स्थलमा कांग्रेस र एमालेका बुथ प्रतिनिधी बिच विवाद सुरुवात भएको थियो । तर विवादले उग्ररुप लिन थालेपछि मतदान स्थलमा भएका एमाले, कांग्रेसका कार्यकर्ता मतदान स्थलमा प्रबेश गरेर झडप गर्न थालेको स्थानीय फुयालको भनाई छ । 

९ राउण्ड हवाई फायर भएपछि भिड तितरवितर गरेर मतदान स्थलका सुरक्षाकर्मीहरुले मतदान सामाग्रीको सुरक्षा गरेका थिए । हाल झडप नियन्त्रणमा आएको र विवादको विषयमा छलफल गरेर अगाडी बढ्न राजनीतिक दलका विचमा सर्वदलिय बैठक सुरु भएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिनुभयो । छलफल पश्चात पून मतदान कार्यको सुरुवात गर्ने तयारी थालिएको छ ।